१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024


पनौतीमा ‘अफ्रिकन स्वाइन फिवर’को सङ्क्रमण, ६ सय बङ्गुर मरे


338
Shares

काठमाडौं । पनौती नगरपालिकामा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’को सङ्क्रमणका कारण ठूलो सङ्ख्यामा पशु मरेका छन् ।

व्यावसायिक रूपमा फार्ममा पालिएका बङ्गुरमा गत सोमबार उक्त सङ्क्रमण पुष्टि भएको थियो । उक्त रोगका कारण नगरका तीन ठाउँका फार्ममा ६ सय सात बङ्गुर मरिसकेको नगर कृषि तथा पशुपंक्षी शाखाले जनाएको छ ।

रोगले नगरको वडा नम्बर ५ स्थित टिम भिजन एग्रिकल्चर प्रा.लि र गैरीगाउँ कृषि तथा पशुपंक्षी फार्म तथा वडा नम्बर १० को श्रेष्ठ बङ्गुर फार्ममा क्षति पुर्‍याएको हो ।

शाखा प्रमुख लीलाप्रसाद सापकोटाका अनुसार रोगका कारण हालसम्म किसानको दुई करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिक रूपमा पालिएको बङ्गुरमा मात्रै देखिएको हो । विभिन्न स्थानमा पालन गरिएको बङ्गुरको नमूना परीक्षणबाट गत साता उक्त रोग देखापरेको थियो ।

नगरले निसङ्क्रमणका लागि जैविक सुरक्षा अपनाइएको जनाएको छ । नगरका विभिन्न स्थान पालिएका बङ्गुरमा उक्त सङ्क्रमण पुष्टि भएसँगै नगरले तिनलाई ओसारपसार गर्न निषेध गरेको छ ।

पशु सेवा विभागले यस रोगलाई उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ । विभागका अनुसार यो रोग पशुबाट मानिसमा भने सर्दैन ।

सन् २०१८ मा छिमेकी भारत, चीन र भूटानमा देखिएको यो रोग नेपाल प्रवेश गरेको करिब पाँच महिनापछि काभ्रेपलाञ्चोकको पनौतीमा पनि देखिएको हो ।