८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025


फिल्म ‘मासूम सवाल’ को सार्वजनिक पोस्टर विवादमा

'सेनेटरी प्याडमा भगवान कृष्णको फोटो देखेपछि दर्शक आक्रोशित'

481
Shares

एजेन्सी । भारतमा डकुमेन्ट्री फिल्म ‘काली’को पोस्टर विवादपछि अब अर्को एक फिल्मको पोस्टर पनि विवादमा परेको छ ।फिल्म ‘मासूम सवाल’ को निर्माताहरूले जुलाई १७ मा केही पोस्टरहरू सार्वजनिक गरेका थिए । सार्वजनिक पोस्टरमा सेनेटरी प्याडमा भगवान कृष्णको तस्बिर राखिएको भन्दै विवाद सुरू भएको हो ।

यो पोस्टर सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले फिल्मका निर्देशक र स्टारकास्टमाथि धार्मिक भावनामा ठेस पुगेको आरोप लगाएका छन् । तर, फिल्मका निर्देशक सन्तोष उपाध्याय र अभिनेत्री एकवली खन्नाले फिल्मले कुनै धार्मिक भावनामा ठेस पुर्‍याउने नियत नराखेको प्रतिक्रिया दिएका छन् ।

फिल्मका निर्देशक सन्तोष उपाध्यायले भने ‘कहिलेकाहीँ हामीले कुनैपनि कुरालाई हेर्ने तरिका गलत हुने भएकाले गलत धारणा निम्त्याउने गर्छ, पूरै फिल्म महिनावारीमा आधारित छ, त्यसैले प्याड देखाउनु अनिवार्य छ । त्यसैले पोस्टरमा प्याड छ, प्याडमा कृष्णजी होइन ।”

यो चलचित्रले महिनावारीको बारेमा कसरी जनचेतना जगाउने छ भन्ने कुरा बताउँदै अभिनेत्री खन्नाले भनिन्, ‘फिल्ममा म एक वकिलको भूमिकामा छु, जसले एक छोरीलाई आफ्नो संघर्ष र परिवारमा थोपरेको समाजको प्रथा विरूद्ध लड्न मद्दत गर्छ । फिल्मको कथा पूर्णतया बालिकाको यात्रामा आधारित छ र एक वकिलको हैसियतमा मैले समर्थन गरेको छु ।”

अभिनेत्रीले भनिन्, “यस फिल्मको एउटै उद्देश्य भनेको वर्जितलाई तोड्नु र कथालाई परिवर्तन गर्नु हो । यो पुस्तामा अनावश्यक रूपमा महिलामाथि थोपिने अन्धविश्वास र कुप्रथालाई कुनै ठाउँ छैन ।

फिल्ममा नितांशी गोयल, एकावली खन्ना, शिशिर शर्मा, मधु सचदेवा, रोहित तिवारी, वृन्दा त्रिवेदी, रामजी बाली, शशि वर्मा लगायतका कलाकारको भूमिका रहेको छ । फिल्म अगस्ट ५ मा हलमा रिलिज हुँदैछ ।