अवरुद्ध बढुवा खुलेपछि प्रहरीमा राहत « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


अवरुद्ध बढुवा खुलेपछि प्रहरीमा राहत


40.924k
Shares

काठमाडौं । नेपाल प्रहरीको सरुवा, बढुवामा हुने गरेको राजनीतिक हस्तक्षेपले संगठनको चुरोमै गम्भीर प्रहार गर्ने गरेको छ । दलीय स्वार्थ हावी हुँदा संगठनको उच्च तहमा रहेका इमान्दार प्रहरी अधिकृतमाथि अन्याय हुँदा वर्षेनी एकपछि अर्कोले असमयमै राजीनामा दिने अघोषित परम्परा नै बनेको छ । तलदेखि माथिसम्म प्रहरी बढुवाको एक छिमल सकिएको अवस्थामा ९ महिनापछि आउने संगठन प्रमुखको छनोट फेरि विवादको भुँवरीमा पर्ने देखिन्छ ।

धेरै समयदेखि जाम रहेको प्रहरीभित्रको बढुवा खुलेपछि संगठनभित्रको उकुसमुकुस केही हदसम्म खुकुलिएको अनुभव गरिएको छ । आफू अनुकूलको प्रहरी खोज्ने नेता र उनीहरुको छनोटमा पर्दा गौरव गर्ने प्रहरीका कारण संगठन विवादमा पर्ने गरेको हो । प्रहरीभित्र बढुवा खुल्नु राम्रो भएपनि मापदण्डविनाको राजनीतिक हस्तक्षेपबाट भएको बढुवाले संगठनको भलो नगर्ने पूर्वप्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल बताउनुहुन्छ ।

यसैगरी नेपाल प्रहरीका चार प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण कुमार बिसि र रबिन्द्र धानुकले अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । महानिरीक्षक बन्ने सपनामा राजनीतिक नेतृत्व दाहिना नभएपछि पोखरेलले अवकास जानुअघि नै राजीनामा दिइसक्नुभएको छ । आचार्य भदौ २३, बिसि कार्तिक १५ र धानुक कार्तिक २५ गतेदेखि घर फर्किदै हुनुहुन्छ ।

आगामी कार्तिक २५ गतेसम्म रिक्त हुने चार एआईजी पदको लागि गत बैशाख १ मा बढुवा भएका प्रहरी नायब महानिरीक्षक हरु नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम आलम खाँ स्वाभाविक प्रतिस्पर्धी हुनु हुने छ । उपाध्याय, आचार्य र खाँ २०४९ चैत ११ गते हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसंगै प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएको हो । भावी प्रहरी नेतृत्वको लागि वृत्ति बिकास गर्दै लैजाने सरकारको नीति अनुसार आगामी कार्तिक २५ गतेपछि गत शुक्रबार असार १७ गते बढुवा भएका डीआईजीहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापालाई एआईजीमा बढुवा गर्ने रणनीति तय गरिएको उच्च स्रोतको दाबी छ ।

डीआईजीहरु कुँवर, राई र सिंह २०५१ चैत ५ मा र थापा २०५२ भदौ १९ मा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका अधिकृत हुनुहुन्छ । हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको उत्तराधिकारीको लागि डीआईजीहरु कुँवर, राई र सिंहबीच प्रतिस्पर्धा हुने छ । अबको प्रहरी नेतृत्वका लागि कार्यदक्षता पहिलो र अन्तिम मुल्यांकनको कसी भएको मल्ल बताउनुहुन्छ ।

कुँवर पछि प्रहरी नेतृत्वमा डीआईजी थापाको एकल दाबेदारी देखिन्छ । उहाँ त्यो समूहकै कान्छो सदस्य हुनुहुन्छ । अहिले जे भनिएपनि त्यो बेलाको राजनीतिक नेतृत्वको रुचि अन्तिम हुनेमा दुईमत छैन ।