खगेन्द्र लामिछाने निर्देशित ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


खगेन्द्र लामिछाने निर्देशित ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक


130
Shares

काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा बन्न लागेको पहिलो फिल्म ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक भएको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको उक्त फिल्मको २ मिनेट ४५ सेकेन्टको ट्रेलरमा बेपत्ता छोरालाई कुरेर बसेका बाबुआमाको कथालाई प्रस्तुत गरिएको छ ।

आगामी साउन १३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्ममा अनुप बराल, मेनुका प्रधान, खगेन्द्र लामिछाने, मलिका महत, प्रकाश घिमिरे, बुद्धि तामाङ, कमलमणि नेपाल लगायतका कलाकारको भूमिका रहेको छ ।

माओवादी जनयुद्धको समयमा डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बाबुआमाको पीडा, दु:ख तनाव, निराशालाई फिल्म मार्फत देखाइएको छ । छोरा खोज्ने दम्पतीको भूमिकामा अनुप र मेनुका रहेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

फिल्मको काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्जामा छायाङ्कन भएको हो । यो फिल्मको निर्मातामा रोजिना सिटौला र रविन्द्र बज्राचार्य छन् ।

फिल्ममा दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन, अर्जुन कार्कीको स्थलगत सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत छ । टुकी आर्ट्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको फिल्मको कथा लेखन खगेन्द्र स्वयंको हो ।