
एजेन्सी । पछिल्लो केही वर्षयता दक्षिण भारतका कलाकार र उनीहरूको अभिनयलाई भारत तथा अन्य मुलुकका दर्शकहरूले निकै मन पराएका छन् ।
जसरी दक्षिण भारतीय फिल्म ‘बाहुबली’, ‘आरआरआर’, ‘पुष्पा’ र ‘केजीएफ’ ले बक्स अफिसमा कमाई गरे त्यसले सबैलाई अचम्ममा पारेको छ । दक्षिण भारतीय कलाकारहरू पनि बलिउडमा काम गर्न आकर्षित भएका छन् । त्यस्तै बलिउड फिल्म ‘राँझना’ बाट डेब्यु गरेका दक्षिण भारतीय अभिनेता धनुष आफ्नो नयाँ फिल्म ‘क्याप्टेन मिलर’ लिएर छिटै नै दर्शक माझ आउने भएका छन् ।
शनिबार धनुषले फिल्म ‘क्याप्टेन मिलर’ का बारेमा घोषणा गरेका हुन् । फिल्मलाई निर्देशक अरुण माथेश्वरनले निर्देशन गरेका छन् । यस फिल्मको कथा सन् १९३० देखि १९४० को मद्रास प्रेसिडेन्सीमा आधारीत छ ।
भारतीय सञ्चार माध्यमका अनुसार फिल्म इन्टेन्स र डार्क हुने निर्देशक अरुणले दाबी गरेका छन् । फिल्म ‘क्याप्टेन मिलर’ एक्सनले भरिएको हुने र दोस्रो हाफमा फिल्ममा युद्धपनि देख्न सकिने निर्देशक अरुणले बताएका छन् ।फिल्ममा धनुष ३ फरक लुक्समा देखिनेछन् । क्याप्टेन मिलर बाहेक फिल्ममा धनुषको थप दुई नाम पनि रहेको छ । निर्देशक अरुणका अनुसार फिल्मको आधी कथा लेख्नेबित्तिकै भावना र एक्सनको मिश्रणलाई धनुषले मात्र निभाउन सक्ने महसुस भएको थियो । जस अनुसार उनले धनुषलाई फिल्ममा लिएका हुन् ।
निर्देशक अरुणले फिल्म तमिलमा सुटिङ हुने तर, यसको विषयबस्तु सर्वव्यापी भएकाले अन्य भाषामा पनि डबिङ गरेर फिल्म रिलिज गर्ने बताएका छन् । फिल्मको शुटिङ ३ महिनापछि सुरु हुने र फिल्मलाई २०२३ मा प्रदर्शन गरिने छ । उक्त फिल्मले यसअघिका सफल फिल्महरूसँग प्रतिस्पर्धा गर्ने निर्देशकको विश्वास रहेको छ ।
प्रतिक्रिया दिनुहोस्