थारु समुदायका विकराल बन्दै सिकलसेल, विवाह गर्दा अनिवार्य रगत जाँच गर्न आग्रह « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


थारु समुदायका विकराल बन्दै सिकलसेल, विवाह गर्दा अनिवार्य रगत जाँच गर्न आग्रह


5.837k
Shares

काठमाडौं । पश्चिम तराईका थारु समुदायमा वंशानुगत सिकलसेल एनिमिया र थालेसेमिया रोग बढ्दै गएको पाइएको छ ।

सिकलसेलबाट सन्तानलाई बचाउनका लागि विवाह पूर्व अनिवार्य रगतजाँच गर्नुपर्ने र सोही आधारमा विवाह गर्न उत्प्रेरित गर्न यी समुदायमा प्रचारको काम भइरहेको छ ।

अन्य समुदायमा पनि फाट्टफुट्ट देखिन थालेको सिकलसेल रोग रोकथामका लागि थारू समुदायलाई रगतजाँच गरेर विवाह कुण्डली मिलाउन विशेषज्ञ डाक्टरहरूले सुझाव दिएका छन् ।

यतिबेला बाँकेका थारू गाउँहरुमा ‘कसले कोसँग विवाह गर्ने’ भन्ने पम्प्लेट बाँडिएको छ । सिकलसेल विशेषज्ञ डा.राजन पाण्डेले तयार पारेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी–बिरामीका बीचमा विवाह गर्नै नमिल्ने उल्लेख छ ।

पचास प्रतिशत बिरामी र पचास प्रतिशत बाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ । २५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्दा पनि सोच विचार गर्नुपर्ने भनिएको छ ।

सामान्यतया विवाह गर्दा चिना हेर्ने गरिन्छ तर थारू समुदायमा भने रगतजाँच गर्नुपर्ने उक्त कुण्डलीमा उल्लेख गरिएको छ ।

सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाह पूर्व नै रगत जाँच गरी बाहकहरू पत्ता लगाएर बाहक–बाहकबीच तथा बाहक र रोगीबीच विवाह गर्नु हुँदैन भन्ने कुरा समुदायलाई सिकाउनुपर्ने चिकित्सक बताउँछन् ।

यसलाई समुदायले पनि स्वीकार्न जरुरी रहेको भेरी अस्पताल बाँकेका फिजिसियन मेडिकल विभागका विभागीय प्रमुख तथा सिकलसेल, थालेसिमिया रोगका श्रोत व्यक्ति डा.राजन पाण्डे बताउनुहुन्छ ।

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाह बिरामी र बाहक पत्ता लगाएर समुदायमा सचेतनाका जगाउने काम भइरहेको बताउनुहुन्छ । बाँकेको थारू बाहुल्य गाउँमा यतिबेला बिरामी र बाहक पत्ता लगाउने काम भइरहेको उहाँको भनाइ छ ।

सिकलसेले उपचारमा धेरै खर्च लाग्ने हुँदा सरकारले बिरामीलाई बाचुन्जेल निःशुल्क औषधि गरिदिनुपर्ने सिकलसेल प्रभावित बिरामीको माग छ । उपचारका लागि धेरै खर्च लाग्ने भएकोले आफूहरू यो रोगको उपचार गर्न नसक्ने अवस्था रहेको पीडितहरूको गुनासो छ ।

बाँके, बर्दिया, कैलाली, कंचनपुर, दाङ, कपिलवस्तु लगायतका जिल्लाका थारु समुदायमा सिकलसेल जनस्वास्थ्य समस्याका रूपमा रहेको छ ।