२३ कार्तिक २०८१, शुक्रबार | Sat Nov 9 2024


सिकलसेल रोगको स्थायी समाधान गर्ने लुम्बिनी प्रदेश सरकारको तयारी


52
Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले सिकलसेल रोगको स्थायी समाधान गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी सिकलसेल रोगको निवारणको लागि आगामी आर्थिक वर्षको लागि २ करोड बजेट विनियोजन गरेको जानकारी दिएको हो ।

विशेष गरी थारु समुदायमा देखिने सिकलसेल रोग प्रदेशमा जनस्वास्थ्य समस्याका रूपमा रहेकोले स्थायी समाधान खोज्न कार्यक्रम लागू गर्न लागिएको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारुले जानकारी दिनुभयो ।

बच्चा जन्मिने वित्तिकै सिकलसेल भए नभएको परीक्षण गरिने र सिकलसेल रोगको निवारणको लागि उपायहरू खोजी गर्दै लुम्बिनी प्रदेशबाटै निवारणको आवाज उठाउने उहाँले बताउनुभयो ।

तराईका सोही ६ वटै जिल्लाका ८ वटा सरकारी अस्पतालबाट सिकलसेल तथा थालेसेमिया रोगको निदान तथा उपचारका लागि सिकलसेल परामर्श केन्द्र संस्थापना भई सेवा सञ्चालन भइरहेको मन्त्री थारुले बताउनुभयो । प्रदेशमा बजेट र कार्यविधि स्वीकृत भएर निःशुल्क रक्तसञ्चार सेवा सञ्चालन भएको उहाँले स्मरण गराउनुभयो ।

मन्त्रालयका सचिव डा. विकास देवकोटाले ४३ वटा निकायहरूबाट प्रदेशमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो । प्रदेश सरकारले बिरामी र मृत्युदरको संख्या घटाउनका लागि काम गरिरहेको उहाँको भनाइ छ ।

प्रदेशमा स्वास्थ्य संस्थाहरूमा स्वीकृत स्थायी दरबन्दी १२ सय ४९ रहेकोमा स्थायी पदपूर्ति ५७३ रहेको र ६७६ को स्थायी पदपूर्ति हुन नसकेको मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलको गुनासो छ ।

हाल प्रदेशमा करिव ४६ प्रतिशत कर्मचारीहरूको दरबन्दी पुर्ति भएको छ भने बाँकी दरबन्दी रिक्त रहेको उहाँको भनाइ छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतिको क्रममा क्याथ ल्याब सेवा सञ्चालनको लागि मेसिन खरिद सम्झौता भएको पनि कार्यक्रममा जानकारी गराइएको थियो ।