२३ कार्तिक २०८१, शुक्रबार | Sat Nov 9 2024


बाँकेका थारु समुदायमा बढ्यो ‘सिकलसेल’


143
Shares

काठमाडौं । पछिल्लो समय बाँके जिल्लाका थारु सुमदायमा देखिएको सिकलसेलका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।

उपचारार्थ भेरी अस्पताल, नेपालगञ्ज आउने बिरामीको पनि चाप बढ्न थालेको अस्पतालले जनाएको छ । यस्ता बिरामीलाई एक लाखसम्म निःशुल्क उपचार गर्ने सरकारको नीति छ तर एउटा बिरामीका लागि सो रकम अपुग भएको अस्पतालका चिकित्सकले जनाएका छन् ।

अस्पतालका सूचना अधिकारी डाक्टर संकेतकुमार रिसालले प्रतिदिन सरदर दुई सयजना सिकलसेलका बिरामी उपचारका लागि आएको जानकारी दिँदै रोग पहिचानका लागि थारु समुदायका बस्तीमा स्वास्थ्य कार्यालयमार्फत शिविरसमेत सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले सिकलसेलसँगै थालसेमिया रोगसमेत देखिएको उल्लेख गर्दै शिविरमार्फत सिकलसेलको स्क्रिनिङ परीक्षणपछि थप बिरामीको भेरी अस्पतालमा रहेको ‘एचबी एलेक्ट्रो फोरोसिस’ मेशिनबाट सिकलसेल रोग निश्चित गरेपछि मात्रै सरकारले उपचार गर्ने जानकारी दिनुभयो ।

डाक्टर रिसालले सिकलसेल र थालसेमिया दुवै रोग रगतसँग सम्बन्धित रोग भएको बताउनुभयो । जिल्लाको थारु समुदायको बाहुल्य रहेको ठाउँमा गरिएका परीक्षणमा ती समुदायमा सिकलसेलका बिरामी देखिएका छन् ।

राप्तीसोनारी गाउँपालिकाको बैजापुरमा मात्रै १ सय ५० जनाको परीक्षण गर्दा २१ लाई सिकलसेल पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले दश दिनदेखि यस क्षेत्रमा सिकलसेल तथा थाल सेमिया रोगको परीक्षण गरी जाँच गरिरहेको छ ।

सो अवधिमा चार सय जनाको परीक्षण गरिसकेको ती मध्येमा ३१ प्रतिशतलाई सो रोग देखा परेको छ । कार्यालयका अधिकृत नरेश श्रेष्ठले थारू समुदायमा सिकलसेल तथा थालसेमिया भन्ने लुकेका बिरामी धेरै हुन सक्ने जानकारी दिनुभयो ।

कोहलपुरमा नगरपालिका आफैँले सिकलसेल जाँच गरेको छ । नगरपालिकाले नौ हजार मानिसको परीक्षण गर्दा सात सयमा सो रोग देखा परेपछि उनीहरुको उपचार गरिरहेको छ । जिल्लामा कोहलपुर, राप्ती सोनारीसँगै बैजनाथमा थारु समुदायको बसोबास बढिरहेको छ ।