पाल्पाका महिला बाख्रा पालनबाट आत्मनिर्भर बन्दै « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Tue Jun 28 2022


पाल्पाका महिला बाख्रा पालनबाट आत्मनिर्भर बन्दै


156
Shares

पाल्पा । पाल्पाका बगनासकाली खानीछापका महिलाहरु बाख्रा पालनबाट आत्मनिर्भर बन्न थालेका छन् ।

बाख्रापालनबाट सुरु भएको पाल्पा खानीछापका महिलाको दैनिकी अहिले बदलिएको छ । उद्यमी महिला समूह गठन गरेपछि यहाँका महिलाहरू आफै आत्मर्निभर मात्र भएका छैनन्, उनीहरूले गाउँमा २-४ करोड रुपैयाँ पैसा जम्मा गरेर लगानी गर्न समेत थालेका छन् ।

पाल्पा बगनासकाली खानीछापका महिलालाई अहिले दैनिकी चलाउन कसैको मुख ताक्नुपर्ने अवस्था रहेन । ७ वर्षको अवधिमा यहाँका महिलाहरूको जीवनस्तरमा ठूलै परिवर्तन आयो । खानीछापका महिलाहरूले गाउँघरबाटै दुई चार करोड रुपैयाको कारोबार गर्दै आएका छन् । ९० प्रतिशत मगर बस्ती रहेको यो खानीछापमा आम्दानीको कुनै भरपर्दाे श्रोत थिएन् । तर, दुई चार वटा बाख्रा पालनबाट सुरू गरेको व्यवसायिक बाख्रा पालनबाटै गाउँका महिलाहरू आत्मनिर्भर बनेका हुन् भन्दा पत्याउन गाह्रो हुन्छ ।

गाउँभरीका १७ वटा महिला समूह मिलेर खानीछाप सामाजिक उद्यमी महिला सहकारी सस्था लिमिटेड गठन गरेर बाख्रापालन व्यवसायलाई व्यस्थित व्यवासयिक बनाउदै लगेपछि उनीहरू आर्थिक रुपमा सबल भएका हुन् । ३ सय ५३ जना महिला शेयर सदस्य रहेको सहकारीमा २ सय ११ घरपरिवारले नियमित व्यवसायिक बाख्रापालन व्यवसाय गर्दै आएका छन् ।

सहकारी मार्फत महिला कृषकहरूले एक वर्षको अवधिमा ५ सय १९ वटा खसीबोकाको विक्री गरि ४८ लाख रुपैयाँ कारोबार गरेको सहकारीकी अध्यक्ष मिन कुमारी सिजाली बताउँछिन् । पाल्पा खानीछापका सबै जसो घरको मुख्य आयश्रोत नै बाख्रापालन हो । खानीछापका एक घरपरिवारले बाख्रापालन व्यवसायबाट वार्षिक ५० हजार देखी ५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । व्यापारी तथा कृषकहरूको लागी चाहिने खसी, बोका तथा बाख्राहरूको खरिद विक्री सबै सरकारले नै गर्दै आएको छ ।

अनुमानको भरमा विक्री हुँदै आएका खसी बोका तथा बाख्राहरू अहिले जिउँदै नाप तौल गरेर सहकारीले विक्री गर्दै आएको छ । जसको कारण कृषकहरू नापतौलमा ठगीनु परेको छैन् । पैसाको आवश्यकता परेमा महिलाहरूले सहकारीमा फोन गरी खसी बोका विक्री गरी पैसाको जोहो मिलाउने गरेको महिला कृषक गोमती सरा चोहान बताउँछिन् । पाँच, सात वर्ष अघि दुई चार पैसा निकाल्न पनि धौधौ हुने खानीछापका महिलाहरू अहिले दुई चार करोडको कारोबार गर्ने भएपछि अन्य गाउँका महिलासमेत यसबाट उत्साहित भएका छन् ।

पाल्पा खानीछापका महिलाको यो उदाहरणीय कामले गाउँघरबाटै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिएको छ।