विश्वकप फुटबलको प्ले–अफ छनौटमा युक्रेनद्धारा स्कटल्याण्ड पराजित « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


विश्वकप फुटबलको प्ले–अफ छनौटमा युक्रेनद्धारा स्कटल्याण्ड पराजित


260
Shares

काठमाडौं । विश्वकप फुटबलको प्ले अफ् छनौट खेलमा युक्रेनले स्कटल्याण्डलाई ३–१ ले हराएको छ ।

स्कटल्याण्डको ह्याम्पडेनमा बुधबार राति भएको खेलमा भ्रमणकारी टोलीलाई विजयी गराउन आन्द्रिया यार्मोलेन्को, रोमन यारेम्चुक र आर्तेम दोब्भीकले एक एक गोल गरे । स्कटल्याण्डका क्यालुम म्याकग्रेगोरले एक गोल फर्काए ।

खेलको ३३ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा यारेम्चुकले गोल गर्दै युक्रेनलाई २–० को अग्रता दिलाए । त्यस्तै, ७९ औं मिनेटमा म्याकग्रेगोरले गोल गर्दै स्कटल्याण्डलाई २–१ को स्थितिमा ल्याए । तर, दोस्रो हाफको इन्जुरी समयमा दोब्भीकले गोल गर्दै युक्रेनलाई ३–१ को जित दिलाए ।

रुससँगको युद्धले आन्तरिकरुपले ध्वस्त भईरहेको युक्रेनले फुटबल मैदानमा निकै जोश र एकताका साथ प्रदर्शन गरेको थियो ।

यो जितले युक्रेनलाई विश्वकप फुटबलको एक कदम नजिक पुर्‍याएको छ । युक्रेनले अब फाइनल प्ले अफ् खेलमा वेल्सको सामना गर्नेछ । उक्त खेल जित्ने टोली कतारमा हुने फिफा विश्वकपमा छानिनेछ ।