नवौं राष्ट्रिय खेलकुद जेठबाट असोजमा सर्यो « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


नवौं राष्ट्रिय खेलकुद जेठबाट असोजमा सर्यो

६० करोडभन्दा बढी खर्च नगर्न अर्थको निर्देशन

351
Shares

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज अन्तिम साता हुने भएको छ ।

यसअघि जेठ महिनाको २२ देखि २८ गतेसम्म हुने भनिएको नवौं राष्ट्रिय प्रतियोगिता असोजसम्म सारिएको हो ।

युवा तथा खेलकुद मन्त्रायलयले मंगलबार पत्रकार सम्मेलन गरेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको प्रश्तावमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले जानकारी दिनुभयो ।

फास्ट ट्रयाकबाट गर्ने भनिए पनि कानूनी प्रक्रिया र सार्वजनिक खरिद ऐनअनुरूप यसअघि तोकिएको समयमा गर्न असम्भव भएको उहाँले जानकारी दिनुभयो ।

नवौं राष्ट्रिय खेलकुदमा ६० करोड भन्दा धेरै खर्च नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

कोभिड १९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौं राष्ट्रिय खेलुकद जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकीको पोखरामा हुने तय भएको थियो ।

नवौं राष्ट्रिय खेलकुदका लागि यसअघि नै लोगो, मस्कट र नारासमेत सार्वजनिक भइसकेको छ । विभिन्न ३८ खेलमा प्रतिष्पर्धा गराउनेसमेत यसअघि नै निर्णय भइसकेको छ ।