२३ कार्तिक २०८१, शुक्रबार | Sat Nov 9 2024


नेपालमै इन्धन उत्पादनको तयारी, कोरियन कम्पनीले सहयोग गर्ने


23.075k
Shares

काठमाडौं । नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ ।

दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्यूट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो ।

मंगलबार सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा जीजीजीआईका महानिर्देशक फ्रेङ्क रिजस्बेर्मन र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हस्ताक्षर गर्नुभएको सम्झौतामा जीजीजीआईले इन्धन उत्पादनका लागि आवश्यक अध्ययन, कार्यान्वयनका लागि नेपाल सरकारलाई सहजीकरण र आवश्यक सबै खालका प्राविधिक सहयोग गरिदिने भनिएको छ ।

सम्झौतामा काठमाडौं युनिभर्सिटीलाई पनि संलग्न गराएर नेपालमा हाईड्रोजन फ्यूलको उत्पादन कार्यलाई अघि बढाउने उल्लेख गरिएको नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बताउनुभयो ।

मन्त्री भुसालले जलविद्युत्को खपतका लागि पनि नेपालमा इन्धनसँग सम्बन्धित यस्ता परियोजनाहरू उपयोगी हुने स्पष्ट पार्नुभयो ।