चाँडै सर्वदलीय संरचना निर्माण गरौं, सबैको एकताले मात्र कोरोनाविरुद्धको युद्ध जित्न सकिन्छः अध्यक्ष दाहाल (पूर्ण अन्तर्वार्ता) - Image Khabar
Everest Bank

चाँडै सर्वदलीय संरचना निर्माण गरौं, सबैको एकताले मात्र कोरोनाविरुद्धको युद्ध जित्न सकिन्छः अध्यक्ष दाहाल (पूर्ण अन्तर्वार्ता)

काठमाडौं, चैत्र २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कोरोनाविरुद्धको लडाईंमा सबै दल र पक्षको सहयोग जरुरी रहेको बताएका छन् । इमेज च्यानललाई अन्तर्वार्ता दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले कोरोनाविरुद्धको युद्ध सरकार एक्लैको प्रयासले जित्न सम्भव नभएको भन्दै सर्वदलीय संरचना बनाउनुपर्नेमा पनि जोड दिएका छन् ।

यस्तो संरचना प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा बनाउन प्रस्ताव गर्दै अध्यक्ष दाहालले उक्त संरचनामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतासहित अरु दलका नेताहरुलाई पनि संलग्न गर्नुपर्ने सुझाव दिए । कोरोनाको महामारीमा पनि स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता बारे सोधिएको प्रश्नमा दाहालले खरिद प्रकरणमा जो जो संलग्न रहेपनि उचित छानबीन गरी दोषीलाई कार्वाही गरिनुपर्ने बताए ।

आफूले बारम्बार प्रधानमन्त्रीसँग यसबारेमा ध्यानाकर्षण गराएको भन्दै उनले नेकपाको हालै सम्पन्न सचिवालय बैठकमा अरु नेताहरुले पनि यसबारे प्रधानमन्त्रीलाई प्रष्ट गर्न आग्रह गरेको जानकारी दिए । कसैबाट कमी कमजोरी भएको रहेछ भने पनि यसलाई राजनीतिक दाउपेच बनाउन नहुनेमा उनले जोड दिए ।

प्रधानमन्त्रीले पनि कार्वाही गर्ने आश्वासन दिएको भन्दै उनले कारोनाविरुद्ध सरकारले गरेको कामको प्रशंसा गरे । कोरोनाविरुद्धको यस लडाईमा सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नागरिक समाज, सञ्चारमाध्यम र आम जनताले देखाएको एकताप्रति उनले आभार पनि व्यक्त गरेका छन् ।

कोरोनाको समस्याबाट पार पाएपनि त्यसपछि भयावह अवस्था आउनसक्ने स्वीकार्दै अध्यक्ष दाहालले कामका लागि विभिन्न देशमा गएका नेपालीहरु फर्कने वातावरण बन्यो भने त्यसले सृजना गर्ने समस्या समाधानका लागि तयारी थाल्नुपर्ने बताए । उनले आगामी आर्थिक वर्षको बजेट कोरोना संकटलाई समाधान गर्नेतर्फ केन्द्रित गरिनुपर्ने पनि बताए ।

उनले प्रधानमन्त्री ओली र आफूबीच जुन रुपमा घनिभूत छलफल जरुरी थियो, त्यसो हुन सकिनरहेको भन्दै आफूले वर्तमान समस्याको समाधानमा प्रधानमन्त्रीलाई सघाउन खोजिरहेको प्रष्टीकरण पनि दिए ।

प्रस्तुत छ, इमेज टेलिभिजनको कार्यक्रम हट सीटका लागि अध्यक्ष दाहालसँग प्रस्तोता जगदीश खरेलले गरेको अन्तर्वार्ताका मुख्य अंशहरुः

प्रश्नः कोरोना भाइरसले निम्त्याएको संकटमा सरकारले गरेको काम बारे तपाईंको के धारणा छ ?

दाहालः म मुख्य गरी यस्तो बेलामा राष्ट्रिय सहमतिमा जोड दिन चाहन्छु । संकटका बेला सत्ता र विपक्ष भनेर बस्ने होइन । राष्ट्रिय एकता कायम गरेर मात्र चुनौति र पीडा सामना गर्न सकिन्छ । सबै राजनीतिक दलका बीचमा सहमति, जनताका बीचमा एकता कायम गर्नुपर्दछ । सहमति र एकता जस्ता काम बिरामी बढेपछि गरौंला भनेर कुरेर बस्ने होइन । सतर्कता अपनाउने कुरालाई प्राथमिकता दिनुपर्दछ ।

प्रश्नः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले वास्ता गरेन भन्ने गुनासो गरिरहेको छ नि ?

दाहालः यो गुनासो पूरै सत्य होइन । सरकारले नै आयोजना गरेको सर्वदलीय बैठकमा मैले नै नेपाली कांग्रेस र अरु दलले दिएका सुझावलाई गम्भीरतापूवक लिनुपर्दछ भनेको थिए । उक्त बैठकमा सबैले आफ्ना राय सुझाव दिएका हुन् । हामीले यहाँसम्म आइपुग्न राम्रा काम गरेका छौं । यो संकटका बेला सरकार, राजनीतिक दल, नागरिक समाज, स्वास्थ्यकर्मीका साथै सुरक्षाकर्मीका तर्फबाट राम्रा काम भएको छ । पक्कै पनि सीमा र कमिकमजारी भएका होलान् । समीक्षा जरुरी छ । सबै दलको सहमतिमा एउटा संरचना नै बन्नुपर्दछ । राजनीतिक घोचपेचभन्दा चुनौति सामना नगर्न अगाडी बढ्नु पर्दछ । सरकारले सकारात्मक पहल गर्ने विश्वास दिलाएको छ । मैले सबैलाई समेटेर अगाडी बढ्ने संरचना बनाउनु पर्दछ भनेको छु । त्यस्तो संरचनाले मात्र यो चुनौति सामना गर्न सघाउँछ । प्रधानमन्त्री र अरु राजनीतिक दलहरुलाई पनि यसतर्फ सोच्न अपील गर्न चाहन्छु ।

प्रश्नः उसो त यस्तो संयन्त्र उपप्रधानमन्त्रीको नेतृत्वमै पनि त बनेको छ नि ? तपाई चाहेको संरचनाले चाहिँ के गर्दछ ?

दाहालः उप्रधानमन्त्रीको संयोजकत्वमा रहेको त्यो सरकारी संरचना हो । त्यो पनि आवश्यक पर्दछ । त्यसले काम पनि गरेको छ । त्यसप्रति मेरो कुनै आपत्ति होइन । तर यो संकटसँग लड्न त सरकार एक्लैले सक्दैन नि त, त्यसैले सबै शक्ति एक ठाउँमा उभिनका लागि मैले सर्वदलीय संरचना बनाउन भनेको हुँ ।

प्रश्नः तपाईं अहिले सरकारले गरिरहेको काम कार्वाहीप्रतिचाहिँ सन्तुष्ट हुनुहुन्छ ? स्वास्थ्य सामग्रीमा भएको खरिदमा अनियमितता भएको खबर आइरहेको छ ?

दाहालः अँ सरकारले गरिरहेको कामबाट म सन्तुष्ट नै छु । रोकथाममा उपलब्धि देखिएको छ । तर अझै पनि सबैलाई समेटेर लैजानुुपर्दछ भन्ने लाग्छ । जहाँसम्म कमिकमजोरीको सवाल छ, प्रधानमन्त्री आफैले पनि भनेका छन्, कमी कमजोरीबारे अनुसन्धान हुन्छ । छानबीन गर्छु । भ्रष्टाचार जोसुकै संलग्न भएपनि छाड्दिन भनेर विश्वास दिलाउनु भएको छ । अझै पनि मेरो भनाई सबैलाई समेटेर लैजानेतर्फ ध्यान दिइयोस् भन्ने हो ।

प्रश्नः हालै सम्पन्न सचिवालयको बैठकमा प्रधानमन्त्री मात्रै बोलेको प्रचण्ड झण्डै मौन मौन रहेको र बैठक एउटा औपचा।िकतामा मात्रै सीमित रहेको भन्ने आयोे नि ?

दाहालः होइन, सचिवालय बैठक मैले नै बोलाउन आग्रह गरेको हुँ । यो बेला आवश्यक छ भनेर बैठक राख्न माग गरेको हुँ । बुझाईमा एकरुपता ल्याउनका लागि पनि छलफल जरुरी छ भनेर माग गरेको थिए । बैठक भयो पनि । पार्टीलाई एकतावद्ध बनाउन जोड दिने कुरा भयो । कोरानाविरुद्ध कसरी एकतावद्ध भएर लड्ने भन्ने नै मूल विषय थियो । अरु विषयमा त प्रवेश नै गरेनौं । म मौन रहेको भन्ने सही होइन । मैले आफ्ना विषयलाई गम्भीरतापूर्वक राखेको छु । खरिदलगायतका विषयमा आएका विवाद र बहस के हुन् त्यसलाई स्पष्ट गर्न भनेको छु । राजनीतिक दलहरुलाई पनि समेटेर लैजान आग्रह गरेको हुँ । सचिवलायका अरु सदस्यहरुसमेतले समस्याबारे खुलेर राखेका छौं । पार्टी एकता सुदृढबनाउन, राष्ट्रको एकता सुदृढ गर्ने विषय नै मैले राखेको विषय हो । विषयलाई विवादित बनाउन, घोचपेचको विषय भने बनाउन नचाहेकै हो । हामी सबै एकताकै पक्षमा लाग्यौ ।

प्रधानमन्त्रीसँग खुलस्त कुरा गर्नुपर्ने भएको छ

प्रश्नः प्रधानमन्त्रीको स्वास्थ्यको अवस्था र कोरोनाको कारण तपाईं र प्रधानमन्त्रीबीच भौतिक दूरी त छनै तर मनचाहिँ कत्तिको माझियो त ?

दाहालः होइन त्यस्तो त । हामीबीच कुराकानी भैरहेको छ । हामी दुबै जना एकै दलका दुई अध्यक्ष पनि भएकाले प्रधानमन्त्री र मेराबीचमा अलि बढी छलफल हुनुपर्नेमा कम भयो भन्ने साथिहरुको भनाइ आएको छ । पछिल्ला घटनाक्रमका बारेमा खुलस्त कुरा गर्नुपर्ने विषयमा दुबै सहमत छौं । तर प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपणका कारण त्यति अलि बढी समय लिएर कुरा गर्न मिलिरहेको छैन ।

प्रश्नः उसो भए तिक्तताचाहिँ कायमै छ है ?

दाहालः दुई अध्यक्षबीचको मात्रै विषयभन्दा पनि देशमा देखिएका विभिन्न समस्या समाधानका उपाय र विधि खोज्नेबारेमा छलफल गर्नुपर्ने जरुरी देखिएको हो ।

प्रश्नः पार्टीको कार्यकारी अध्यक्ष भएका नाताले सरकारका कामबाट हुने जस अपजस त तपाईको काँधमाथि पनि आउँछ । स्वास्थ्य सामग्री खरिद प्रकरण, सीमा क्षेत्रमा नागरिक अलपत्र परेको सन्दर्भ, गरीबी र रोजगारी गुमाएकाहरुको समस्याको समाधानका लागि सरकारले प्रभावकारी काम गरेन भन्ने आलोचना छ नि ?

दाहालः हो सरकारका कामकार्वाहीबाट सृजित सबै जसअपजसको कुरा मैले पनि लिनुपर्दछ । त्यसैका लागि भनेको हुँ कि दुई अध्यक्षबीच अझ बढी छलफल र समझदारी जरुरी छ । केही समस्या देखिएको छ । स्वास्थ्य उपकरण, औषधि खरिदमा भएका विषयमा उठेका सवालमा गम्भीर रुपमा अध्ययन गर्न प्रधानमन्त्रीलाई भेटेर भनेको छु । दोषी भए कार्वाही गर्न पनि भनेको छु । मैले मात्रै होइन सचिवालय बैठकमा अरु नेताहरुले पनि सच्याउन भनेका छन् । प्रधानमन्त्री आफैले पनि उठेका विषयहरुको खोजिनीति गरिरहेको छु । दोषी देखिएकालाई कार्वाही गर्छु भन्नु भएको छ । अरु राजनीतिक दाउपेचमा लाग्नेभन्दा पनि महामारीविरुद्ध एकतावद्ध भएर लाग्नु आजको आवश्यकता हो । कमीकमजोरी छ भने सच्याएर जाउ तर यसैलाई हतियार बनाएर राजनीति गर्नेतर्फ नलागौं । जनताको जीवन रक्षागर्ने विषय मूल पक्ष हो । यति बेला सबैबीचको एकता नै मुख्य कुरा हो ।

प्रधानमन्त्रीको नेतृत्वमा सबै दलका नेता अट्ने संरचना बनाइनु पर्दछ

प्रश्नः तपाईंले प्रस्ताव गरेको संरचनाका सन्दर्भमा नेपाली कांग्रेससहितका अरु दललाई के आग्रह छ ?

दाहालः प्रधानमन्त्री स्वयंको नेतृत्वमा प्रमुख प्रतिपक्षी दलका नेतासहित अरु दलका नेताहरु पनि रहेको संरचना बनाइनु पर्दछ । यो अरुको नेतृत्वमा बनाएर हुन्न । यो कुरा मैले प्रधानमन्त्रीलाई पनि भनेको छु । यसमा विमती गर्नुपर्ने कुनै कारण छैन । त्यस खालको संरचनामा बसेर काम गर्न म सबैलाई आग्रह गर्दछु ।

प्रश्नः कोरोनाका कारण विश्व अर्थतन्त्र नै खतरामा परिरहेको अवस्था छ । नेपाली अर्थतन्त्रको अवस्था त झन् जोखिममा छ । तपाईंले चाहिँ कसरी मूल्यांकन गर्नुभएको छ । आसन्न संकटबाट कसरी पार पाउने ?

दाहालः यो अत्यन्तै ठूलो संकट हो । मानव जातीमाथि नै आइपरेको संकट हो । यसले इतिहासकै समीक्षा गर्नुपर्न देखाएको छ । पुँजिवाद र भूमण्डलीकरणबारे फेरि सोच्न बाध्य बनाएको छ । नयाँ व्यवस्थाबारे छलफल गर्नुपर्नेबारे सोचनीय बनाएको छ । पुँजिवादले मानव जातिलाई सुख दिँदैन कि भन्ने देखिँदैछ । अबको विश्व एशिया हो भन्ने किताब पढिरहेको छु । शक्तिकेन्द्र कहाँ सर्छ ? एशियातर्फ सर्छ भन्ने छ । यसले नेपाललाई पर्ने असरबारे समीक्षा र अध्ययन गर्नुपर्ने देख्दैछु ।

जे भएपनि कोरोनाका कारण हाम्रो जस्तो अर्थतन्त्रमा त झन् ठूलै असर पर्नेछ । तत्कालका लागि गरीब, निमुखा, तल्लो वर्गका मानिस, ज्यालादारी गर्नेलाई राहत दिनेबारे सोच्नुपर्ने छ । आगामी आर्थिक वर्षको बजेट पनि कोरोनाले पारेको असर सामना गर्नेतर्फ केन्द्रित दिनुपर्ने छ । परम्परागत बजेटले काम चल्दैन । निजी क्षेत्रलाई साथ लिएर अगाडी बढ्नुपर्ने हुन्छ । उनीहरुका सरोकारलाई पनि सम्बोधन गर्नुपर्दछ । कोही भोकै नपरुन्, कसैले पनि उपचार नपाउने अवस्था नहोस् भन्नेमा विचार पुर्याउनु पर्दछ ।

राज्य व्यवस्था बदलिन्न, निरंकुशताको गुञ्जायस नै छैन

प्रश्नः कोरोनाका कारण विश्वभर नै बेरोजगारी बढ्ने निश्चित छ । नेपालमा यो अवस्था झन् के हुन्छ ? वैदेशिक रोजगारीमा गएकाहरु रोजगारी गुमाएर नेपाल फर्कंदाको अवस्था कस्तो होला ? मुलुकको राज्य व्यवस्था नै रहला नरहला भनेर आशंकाहरु गर्न थालिएको छ, के भन्नुहुन्छ ?

दाहालः लाखौं नेपालीको कमाईबाट हाम्रो अर्थतन्त्रमा सहयोग भइरहेको सत्य हो । यस्तो समयमा वैदेशिक रोजगारीमा गएकाहरुले जागीर गुमाए भने निकै नै चुनौतिपूर्ण अवस्था आउने छ । तर यसको पनि त सामना गर्नैपर्दछ । सामना गर्नुको विकल्प छैन । यसलाई सामूहिक शक्तिबाट मात्र चिर्न सकिन्छ । त्यसका लागि जनतालाई अझ शक्तिशाली बनाउँदै लैजाने हो । तर कुनैपनि खालको निरंकुशताबाट, अधिनायकवादी शासनबाट यसको समाधान सम्भव नै छैन ।

प्रश्नः त्यसो भए निरंकुशता आउन सक्दैन, त्यस्तो जोखिम छैन हैन त ?

दाहालः जनताको ठूलो बलिदानी पछि यो व्यवस्था आएको सहो । संविधानसभाबाट संविधान निर्माण र गणतन्त्र स्थापना भएको हो । स्थीर सरकार बनाउन सकिने अवस्था आएको हो । निरंकुशता आउने वा राज्यव्यवस्था बदलिने कुनै सम्भावना छैन । जनतालाई त्यो स्वीकार्य छैन । परिवर्तनका लागि लडेका शक्तिहरुबीच भने सुदृढ एकता जरुरी छ । जनताले निरकुशताबाट सामाधान दिन्छ भन्ने कल्पनासम्म पनि गरेका छैनन् ।

प्रश्नः सीमा नाकाहरुमा मानिसहरु जोखिमपूर्ण अवस्थामा रहेका छन् । सम्भावित संक्रमणको जोखिममा रहेकाहरुलाई खोज्नु अर्को चुनौति छ । उनीहरुलाई क्वारेन्टाइनसम्म कसरी ल्याउने ?

दाहालः हामीले यो समस्या देखिने बित्तिकै दुबै अध्यक्षले हस्ताक्षर गरेर पार्टीकोतर्फबाट पार्टी सदस्यहरुसम्म पुग्ने गरी बुँदागत रुपमा सर्कुलर पठाएका छौं । त्यो पालना गर्न निर्देशन दिएका छौं । व्यवहारमा कार्यान्वयन गर्न अपील गरेका छौं । यो बिरामीलाई कसैले पनि लुकाउँदैन । लुकाउनु पनि हुन्न । सरकार र दलहरु सक्रिय हुँदा लुकाउन सम्भव पनि छैन । ज्वरो आउने, टाउको दुख्ने, खोकी लागेमा कोरोना हुनेरहेछ भन्ने सबैलाई थाहा पनि भैसक्यो । एकाध मान्छेले लुकाउन खोजे पनि लुक्न सक्दैन ।

रोकथामका लागि जे नीति लिएका छौं । हाम्रो अभियान सही बाटोमै छ । सरकार, दलहरु सही बाटोमा छन् । तैपनि आवश्यक उपकरणको व्यवस्था गर्दै झन् बढीको परीक्षणमा ध्यान दिनुपर्दछ । स्वास्थ्य क्षेत्रमा कार्यरत रही सक्रिय बनेकाहरुको मेहनतका लागि धन्यावाद दिन चाहन्छु । यो त्यागप्रति आभार व्यक्त गर्दछु । सुरक्षाकर्मी खासगरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको कामको प्रशंसा गर्न चाहन्छु । सबै जनताले लकडाउनमा देखाएको सहयोगपैति आभार छ । हामी सबै लाग्दा यो रोग नियन्त्रण गर्न सक्छौं ।

प्रश्नः जनताका लागि केही अपील छ ?

दाहालः क्रान्ति र शान्तिका दुबै अवस्थामा मात्र होइन, संविधान निर्माणका लागि पनि त्याग तपस्या, सघर्ष गर्दै खारिएका जनता हुन् । लकडाउनमा बस्नुपर्दाको पीडा छ । तर संक्रमणको खतरा झन् पीडादायी हुन्छ । जनताले पीडा र समस्या खेप्न परेको छ । तर नेपाली जनता महान् छन् । यो योगदान गर्ने अवसर हो भन्ने बुझेका छन् । सीमामा नेपालीहरु आउनेक्रम छ । उनीहरुले दुःख पाएको देख्दा भावुक पनि हुन्छु । तर पनि पीडा सहनुको विकल्प छैन । भारत र नेपाल दुबैतिर लकडाउन हुँदा यताका यतै र उताका उतै भएका छन् । नेपाल र भारत दुबैले अलपत्र परेकाहरुलाई दुबै देशले आफ्नै भूमिमा राख्ने समझदारी भएको छ । र अहिले त्यसको अर्को विकल्प छैन । जो जहाँ छ त्यही बसेर सामना गर्नुको विकल्प छैन । सरकार र हामीले सम्भव भसम्म अफ्ठ्यारोमा परेकाहरुलाई राहत दिने हो ।

कोरोनाको संकट टरेपछि आउने समस्याको समाधानका लागि पनि हामीले अहिलेदेखि नै तयारी गर्नुपर्दछ । त्यो समाधान खोज्ने र गर्ने पनि हामीले नै हो । केही समय पीडा भएपनि पीडा सहनुको विकल्प छैन । जनतालई त्यही अपील गर्दछु । यो लडाई हो । जित्नै पर्दछ । सबैको एकताबाटै जितिने हो । युद्ध, शान्ति, संविधान निर्माणका सबै समयमा एकताबाटै हामीले जितेका हौ । विश्व लोकतन्त्रको क्षेत्रमा नयाँ मोडल स्थापित गरेका छौं । अहिलेको संकट मानव जातिकै लागि विकराल बनेर आएको छ । यसलाई पनि नेपालीले एकताकै बलमा जित्ने हो । कोरानाले कुनै जातपात, धनी गरीबको भेद गरेको छैन । त्यसैले मानव जात नै एक हुनुपर्ने भयो । पुँजिवादले विकास गरेको संरचना, खानपान संस्कृतिले समस्या ल्याएको देखियो । कोरोनाले नयाँ ढंगले सोच्न बाध्य बनाएको छ । नेपालीको एकता, संस्कृति र गौरवपूर्ण इतिहासलाई हेरेर पनि हामीले यसविरुद्ध जित्न एकता देखाउनै पर्दछ ।

प्रश्नः लकडाउनमा बस्न तपाईंलाई चाहिँ कत्तिको गाह्रो भएको छ ?

१४ वर्ष बनवास भनौं वा भूमिगत बसेको अनुभव भएकाले मलाई त्यति गाह्रो भएको छैन । पीडा भएको छैन । केही पुस्तक पढेर, साथिभाईलाई फोन गरेर र संगीत सुनेर समय बिताइरहेको छु ।

हेर्नुस् भिडियो अन्तर्वार्ताः

https://www.youtube.com/watch?v=TnN04OaZPJg

 

प्रतिक्रिया दिनुहोस्