कार्यक्षमताको आधारमा आईजीपीमा सिंहलाई नियुक्त गरेको गृह सचिव पाण्डेकाे दावी « Imagekhabar – Online News Portal of Nepal


कार्यक्षमताको आधारमा आईजीपीमा सिंहलाई नियुक्त गरेको गृह सचिव पाण्डेकाे दावी


403
Shares

काठमाडाैं । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको दावी गर्नुभएकाे छ ।

गृह मन्त्रालयमा आज (साेमबार) नवनियुक्त महानिरीक्षक सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्दै सचिव पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भएपनि प्रचलित कानून प्रहरी नियमावलीमा भएको व्यवस्थाअनुरुप नै महानिरीक्षकमा बढुवा गरिएको बताउनुभयो ।

सचिव पाण्डेले एआईजीहरुमा सिंहमा सबै कार्यकुशलता देखेर नै निर्णय गरेको बताउनु भयो । उहाँले सबै एआईजीहरु २०४९ साल चैत्र १२ गतेको नियुक्ति भएकोले उनीहरुबाट नै कार्यकुशलता र नेतृत्व प्रदान गर्न सक्ने क्षमताका आधारमा सरकारले सिंहलाई महानिरीक्षक बनाएको स्पष्ट पार्नुभयो ।

सचिव पाण्डेले भन्नुभयो, ‘प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भए । हाम्रो प्रचलित कानून प्रहरी नियमावलीमा भएको व्यवस्थाले ज्येष्ठता भन्छ । ज्येष्ठता भनेपछि सबै २०४९ साल चैत्र १२ गतेको नियुक्तिको मान्छेहरु नै अहिले महानिरीक्षक हुन उपयुक्त हो । सबै त्यही हुनुहुन्छ ४ जना नै । त्यसमा ज्येष्ठता भनेपछि पदको ज्येष्ठता मात्रै नभइकन कसले संगठनलाई अविभावकीय भुमिका दिनसक्छ ?

हाम्रो परिवारमा बुबाको भुमिका हुन्छ नि कमाण्ड गर्न सक्ने यहाँ पनि त्यही लागू हुन्छ । यहाँ पनि अविभावकीय भुमिकाको हिसावले सरकारले खोज्यो । त्यो हिसावले ज्येष्ठता रोज्यो । परिपक्वताको हिसावले सरकारले छनोट गर्यो । नियमावलीले कार्यकुशलता र कार्यक्षमता भनेको छ । सरकारलाई भएका एआईजीहरुमा नवनियुक्त महानिरीक्षकज्यू एआईजीबाट बढुवा हुनुभयो । उहाँको कार्य कुशलता र कार्य क्षमता सरकारलाई राम्रो लाग्यो ।’

गृह सचिव पाण्डेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको अहिलेको जनशक्तिले आवश्यक्तालाई धान्न नसक्ने बताउनु भयो । उहाँले अहिलेको आवश्यक्ता धान्न १ लाख नेपाल प्रहरी र न्यूनतम ५० हजार सशस्त्र प्रहरीको आवश्यक्ता रहेको बताउनुभयो ।

गृह सचिव पाण्डेले भन्नुभयो, ‘नेपाल प्रहरीको ७९ हजारको जनशक्ति र सशस्त्र प्रहरी बल नेपालको ३७ हजार हाराहारीको जनशक्तिले अहिलेको बदलिँदो समाजको आवश्यक्ता र मागलाई धान्न सकिरहेको अवस्था छैन । मेरो आँकलनमा अहिलेको माग र प्रहरी चौकीको स्तरोन्नती, ईलाका प्रहरी कार्यालयको स्थापना अरु आवश्यक्तालाई हेर्दा नेपाल प्रहरी न्युनतम १ लाखको संख्यामा तत्काल जरुरी छ ।

त्यस्तै सीमा, सुरक्षा लगायत अरु चोरी, तस्करी नियन्त्रण, राजश्व अभिवृद्धि लगायतका अभिभाराहरुको कार्यसम्पादन गर्न सशस्त्र प्रहरी बलमा अहिलेको अवस्थामा न्यूनतम ५० हजार संख्याको प्रहरी फोर्स जरुरी देखिन्छ ।’ गृहसचिव पाण्डेले आन्तरिक रुपमा रहेका विकृति र विसंगतिलाई हटाउनु दुवै प्रहरी बलका लागि चुनौती रहेको बताउनुभयो ।

उहाँले विगतमा भोगेका भन्दा नविन ढाचाका अपराधका प्रकृतिहरु विकास भइरहेकोले तिनको नियन्त्रण र त्यस्ता चुनौतीहरुको सामना गर्न सक्षम प्रहरी संगठनको निर्माण गर्नुपर्ने बताउनुभएकाे छ ।