सुर्य नेपाल च्यालेन्जको उपाधि भुवनलाई « Imagekhabar – Online News Portal of Nepal


सुर्य नेपाल च्यालेन्जको उपाधि भुवनलाई


91
Shares

काठमाडौं । नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी जयराम श्रेष्ठलाई चार स्ट्रोकले हराउँदै सुर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् ।

प्रतियोगिताको अन्तिम दिन २-अन्डर ६६ को स्कोरमा १३ अन्डर २ सय ५९ को नतिजामा उनले सिजनको दोस्रो उपाधि जितेका हुन् ।

भुवनले पहिलो देखि लगातार चौथो होलमा बर्डी प्रहार गर्दै समग्रमा १५ अन्डरको स्थितिमा पुगेका थिए । जसले उनको उपाधि होडलाई सजिलो बनायो । यसपछि सातौ होलमा बोगी र आठौं होलको बर्डीले फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाका थिए ।

१४ औ र १५ औ होलमा एक-एक सट खेर फाले पनि २-ओभर ३६ मा ब्याक नाइनको खेल पुरा गरेका थिए । यसरी १३ अन्डरको सानदार नतिजामा च्याम्पियन बने । यो सिजनको दोस्रो र करियरको दशौं उपाधि जितेका भुवनले एक लाख नगद पुरस्कार प्राप्त गरे ।

अन्तिम दिन ६-अन्डर ६२ को दिनकै उत्कृष्ट स्कोर कार्डमा‌ समग्रमा ९-अन्डर २ सय ६३ सहित दोस्रो स्थान प्राप्त गर्न सफल भए । उनले सात बर्डी प्रहार गर्दा पाँचौ होलमा एक सट खेर फालेका थिए । २-ओभर ७० सहित समग्रमा ६-अन्डर २ सय ६६ सहित सञ्जय लामा तेस्रो भए ।

एमेच्योरतर्फ सुवाष तामाङले उपाधि जित्न सफल भए । उनले अन्तिम दिन १–ओभर ६९ सहित समग्रमा ५–अन्डर २ सय ६७ सहित उपाधि जित्न सफल भएका हुन्। समग्रमा उनी चौथो भए । ७२ होलको चार दिने प्रतियोगितामा ३८ प्रोफेसनल र २२ एमेच्योर गरी ६० खेलाडीको ‌सहभागिता रहेको थियो ।