२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आइएमई पे, प्रवेश शुल्क १ रुपैयाँ मात्र


169
Shares

काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट ‘आइएमई पे’ले आगामी वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने क्यान इन्फोटेकको मुख्य प्रायोजन गरेको छ ।

काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रायोजनको बारेमा जानकारी दिइएको थियो । सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जन सम्बन्धि देशको एकमात्र प्रदर्शनीको २७औं संस्करण यसअघि कोभिड– १९ कारण दुईपटक स्थगित भएको थियो ।

विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाडौंमा मात्र हुने भएको हो । प्रदर्शनीले कोभिड– १९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायीलाई राहत तथा सहयोग पुग्ने क्यान महासंघको अपेक्षा छ ।

प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धि कम्पनी एवम् उत्पादनहरूको सहभागिता रहनेछ । क्यान इन्फोटेकको यो संस्करणमा विश्वव्यापी रूपमा सहभागिता हुनसक्ने गरि भर्चुअल प्रदर्शनीसमेतको व्यवस्था गर्ने भएको छ ।

अघिल्लो पटक करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इन्फोटेकको यो संस्करणमा सोभन्दा बढी संख्यामा अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ ।

यस पटकको इन्फोटेक पेपरलेस र क्यासलेस प्रवेश टिकटको व्यवस्था गरिएने छ । जसमा प्रवेश शुल्क जम्मा १ रुपैयाँ मात्र तोकिएको छ । प्रवेश टिकटलाई आइएमई पेले व्यवस्थापन गर्नेछ ।