२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


‘मिस वर्ल्ड’ टोनी किन हेलम्बु पुगिन् ? यस्तो छ कारण


0
Shares

सिन्धुपाल्चोक । विश्व सुन्दरी टोनी एन् सिंहले सिन्धुपाल्चोकको हेलम्बु ग्रेट ट्रेलको अवलोकन गरेकी छिन् ।

मिस नेपाल अनुष्का श्रेष्ठले हेलम्बु गाँउपालिका ७ सुर्सिङमा सञ्चालन गरेको शिक्षा तथा जिविकोपार्जन परियोजना अनुगमनमा आएकी टोनीले ग्रेट ट्रेलको समेत अनुगमन गरेकी हुन् । 

टोनीले ग्रेट हिमालयन ट्रेलमा फोटो समेत खिचिन् । नेपाल प्राकृतिक सुन्दरताले भरिएको रहेछ, ‘उनले भनिन्, ‘हेलम्बु साँच्चै सुन्दर रहेछ ।’

ग्रेट हिमालयन ट्रेल झन् सुन्दर रहेको प्रतिक्रिया उनको थियो । हेलम्बुलाई पर्यटकीय गन्तब्य बनाउन लाग्न उनले सबैलाई आह्वान गरिन् ।

मिस वर्ल्ड आयोजक संस्थाकी अध्यक्ष मोर्लि सहित आएकी टोनीको टोली ग्रेट ट्रेलको अवलोकन पछि सुर्सिङ गाउँ गएको थियो ।

सुर्सिङ गाउँमा टोलीलाई स्थानीय लामा समुदायले भव्य स्वागत गरेका थिए । त्यहाँ उनले नेपाली खाना ढिँडो र गुन्द्रुक खाइन् ।

ह्योल्मो क्षेत्रको लोकप्रिय खाना खाप्से, साग र आलुको स्वाद चाखिन । मिस नेपाल श्रेष्ठको सहयोगमा सञ्चालित गलैँचा बुन्ने तालिमको अवलोकन गरिन् ।

साथै उनले गलैंचा पनि बुनिन् ।  स्थानीय रुपमा उत्पादन भइरहेको धुपी उद्योगमा उनले धुप बनाएर स्थानीयलाई उत्प्रेरित गरिन् ।

मिस नेपाल २०१९ की श्रेष्ठले सुर्सिङको महाँकालेश्वरी आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरेकी छिन् ।

साथै उनले सो विद्यालयमा ३ जना शिक्षक समेत सहयोग गरेकी छिन् । जिविकोपार्जन तर्फ भने गलैंचा बुन्ने, धुप बनाउने तथा मैनबती बनाउने तालिम दिँदै कच्चा सामाग्री समेत प्रदान गरेकी छिन् ।

उत्पादित सामाग्रीको बजार व्यवस्थापनमा समेत परियोजनाले नै सहयोग गरेको छ ।

सो अवसरमा अनुष्काको प्रोजेक्टबाट अति नै प्रभावित भएर मिस वर्ल्ड आयोजक संस्थाकी अध्यक्ष जुलिया मोर्लिले सो प्रोजेक्टलाई २० हजार डलर सहयोग गर्ने घोषणा गरिन् ।

मिस वर्ल्ड टोनीले हेलम्बु मोडल ज्याम्बेयाङ माविको पनि चासोपुर्वक अवलोकन गरिन् । उनले स्थानीय महिला तथा बालबालिकाको गाला सुम्सुमयाएर माया दर्शाइन् ।

यो सबै कार्यक्रमको चाँजो मिलाएका थिए हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले । विश्व सुन्दरीको भ्रमण लगतै उनले खुशी हुदैं प्रतिक्रिया दिए मैले आफ्नो देशलाई संसारमा चिनाउन पाए । टोनी विश्व सुन्दरी हुन र उनी हाम्रो काम देखेर निकै खुशी भइन् ।

नेपाल भन्ने देश संसारमा छ कि छैन् भन्ने अवस्था भएको समयमा मिस वर्ल्डको ग्रेट हिमालयन ट्रेल भ्रमणले आफू निकै खुशी भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

‘नेपाल भन्ने देश छ कि छैन भन्ने थियो अहिले विश्वलाई चिनाउन पाए खुशी छु’ उनले भने । ‘मिस वर्ल्डको ग्रेट ट्रेल भ्रमणलाई ठूलो अवसरमा लिएको छु अध्यक्ष शेर्पाले भने, यो भ्रमणले हेलम्बुको मात्रै होइन नेपालकै पर्यटन प्रबर्धनमा ठूलो सहयोग पुग्छ ।’

सो अवसरमा मिस नेपाल २०१८ की श्रृखला खतिवडाले एक सय मिटर ग्रेट हिमालयन ट्रेल निर्माणमा सहयोग गर्ने बचन दिएकी छिन् ।

अध्यक्ष शेर्पाले भने, ‘यति ठूलो काम गर्न लाग्नुभएको छ मेरो पनि केही योगदान रहनुपर्छ म १०० मिटर ग्रेट हिमालयन ट्रेल बनाउन सहयोग गर्छु मिस नेपाल २०१८ की खतिवडाले भन्नुभएको छ ।’

 हिडन ट्रेजरको वार्षिक उत्सवको निमन्त्रणमा मिस वर्ल्ड टोनी सहितको टोली नेपाल आएको हो ।

यो क्रममा उनीहरुले मिस वर्ल्डको ‘ब्युटी विथ द पर्पस’ पोजेक्टको अवलोकन गर्ने कार्यक्रमपनि तय भएको हो ।

२०१८ की मिस नेपाल खतिवडा र २०१९ की श्रेष्ठ दुवैले यो अवार्ड जितेका थिए ।

टोनीसहित मिस वर्ल्ड अर्गनाइजेशनकी अध्यक्ष मोर्ली, २०१८ की मिस नेपाल खतिवडा, २०१९

की मिस नेपाल श्रेष्ठको टोली त्यसैको सिलसिलामा हेलम्बु आएका हुन् ।

हेलम्बुमा डेढ घण्टा बिताएको टोनी सहितको टोली लगत्तै मिस नेपाल खतिवडाको प्रोजेक्ट हेर्न मकवानपुर उडेको थियो ।

मकवानपुरको चेपाङ वस्तीमा पुगेर विश्व सुन्दरी टोनीले भनिन्,  यो मेरो आफ्नै घर जस्तै हो । यहाँका बालबालिकाको भविष्य देखेर म निकै खुशी छु ।

खतिवडा र श्रेष्ठको ‘ब्युटी विथ द पर्पस’ प्रोजेक्टका लागि हेलम्बु र मकवानपुर छानिएको थियो । टोनीले पर्यटनमन्त्री योगेश भट्टराइलाई पनि भेटेकी थिइन् ।

उनी नेपाली पोशाक सारी लगाएर मन्त्री भट्टराई भेट्न पुगेकी थिइन् । गए राति दुई बजे टोनी स्वदेश जमैका फर्किएकी छिन् ।

टोनीको नेपाल भ्रमण आठौं विदेश भ्रमण हो । उनले यसअघि अन्य आठ देशको भ्रमण गरिसकेकी छिन् ।  मिस वर्ल्डले नेपाल भ्रमण गरेको भने यो पहिलो पटक हो ।

के हो हिमालयन ग्रेट ट्रेल ?

हिमालयन ग्रेट ट्रेल हेलम्बु गाउँपालिकाको महत्वकांक्षी परियोजना हो ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल रसुवाको गोसाइँकुण्डसँग हेलम्बुलाई जोड्ने उद्देश्यले निर्माण थालिएको पदमार्ग नै हिमालयन ग्रेट ट्रेल हो ।

करिब ६० किलोमिटर लामो पदमार्ग निर्माणले पर्यटन प्रबर्धनमा जोड दिनेछ ।

हिमालयन ग्रेट ट्रेलले स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणका रुपमा रहेको जिल्लाको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङटाङ र गोसाइँकुण्ड जोड्दछ ।

भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी हेलम्बु गाउँपालिकाले ‘ग्रेट हिमालयन ट्रेल’ (पदमार्ग) निर्माणलाई तीव्रता दिएको छ ।

हेलम्बु, सिमिसिदाङ हुँदै लाङटाङ पुगिने ३० किलोमिटरमध्ये १५ किमीको काम सकिसकेको छ ।

पुरानो पदमार्ग हेलम्बु, गञ्जलापास हुँदै रसुवाको लाङटाङ पुगिने ४० किमीमा पनि १० किमी मात्रै काम बाँकी रहेको गाउँपालिकाका अध्यक्ष शेर्पाले जानकारी दिए ।

झण्डै चीनको ‘ग्रेटवाल’को झल्को दिने उक्त पदमार्ग हेर्दा आकर्षक देखिने बताइएको छ ।

ह्योल्मो भूमि र धार्मिकस्थलका रुपमा चर्चित हेलम्बु कलात्मक मौलिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण गरिएको हो ।

यसले हेलम्बुमा पर्यटक विकासका लागि धेरै सहयोग गर्ने गाउँपालिका अध्यक्ष शोर्पाको भनाइ छ । समग्र हेलम्बुलाई पदमार्गले घेर्ने लक्ष्य गाउँपालिकाले लिएको शेर्पाले बर्ताए ।

ग्रेट ट्रेल निर्माणका लागि प्रदेश नं ३ बाट ५० लाख अनुदान निकासा भएको थियो । त्यसैबाट प्राविधिकद्वारा हाल १० किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन तयार गरी बाँकी बजेटबाट पदमार्ग निर्माणकार्य शुरु गरिएको छ ।