काठमाडौं । कर्णाली खेलकुद क्लबको आयोजनामा आगामी चैत २६ गते ४९ किलोमिटर लामो ‘जुम्ला-रारा अल्ट्रा म्याराथन २०७८’ हुने भएको छ ।
जुम्लादेखि मुगुको रारा ताल जाने पद मार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको आयोजकले जनाएका छ ।
काठमाडौँमा शुक्रबार पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनका लागि खेलाडी दर्ता खुला भएको जानकारी दिनुभयो । अहिले आयोजना हुने म्याराथन तेस्रो रहेको जनाइएको छ ।
यसअघि वि.सं २०७५ मा पहिलो र २०७६ मा दोस्रा संस्करणको खेल आयोजना गरिएको थियो । कोरोनाका कारण २०७७ मा सञ्चालन हुन नसकेको म्याराथन यसपटक पुनः आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।
समुन्द्री सतहबाट दुई हजार ३ सय मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलङ्गाबाट सुरु हुने म्याराथन तीन हजार ३ सय मिटरको उचाइमा रहेको डाँफेँ लेक, चार हजार एक सय मिटरको उचाइमा रहेको चुच्चेमारा लेक हुँदै दुई हजार ८ सय ९० मिटरको उचाईमा रहेको राराताल छेउमा समापन हुने जनाइएको छ ।
जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुटमा व्यावसायिक खेलाडी ५ देखि ७ घण्टामा पार गर्दछन् ।
आयोजकका अनुसार अघिल्ला वर्षमा विजयी खेलाडीलाई रु एक लाख पुरस्कार दिइएकामा यसपालि सोभन्दा बढीको पुरस्कार राशि राखिने भए पनि घोषणा हुन भने बाँकी रहेको जनाइएको छ । यसपालि उत्कृष्ट १० खेलाडी पुरस्कृत हुनेछन् । म्याराथन सम्पन्न गर्न ५० लाख लाग्ने अनुमान गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्