
काठमाडौं । नेपालले एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटमा लगातार दोस्रो हार व्यहोरेको छ ।
थाइल्याण्डको बैंककमा आज भएको खेलमा हङकङसँग ४३ रनले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।
टेर्डथाई क्रिकेट मैदानमा हङकङले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए ।
कुशल १९ रनमा आउट भए । यस्तै अविनाश बोहराले १२ रन जोड्दा आरिफ शेखले १० रन बनाए ।
करण केसीले ७ रनमा आउट भए । त्यस्तै विनोद भण्डारी र दिपेन्द्र सिंह ऐरी ५–५ रनमा आउट हुँदा पारस खड्का ४ रनमा पेभेलियन फर्किए ।
पवन सर्राफ १ रनमा आउट हुँदा सन्दीप लामिछाने शून्य रनमा आउट भए । हङकङका हरुन मोहमद अर्सादले ५ विकेट लिए ।
यस्तै अफ्ताफ हुसेनले ३ तथा इशान खानले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।
हङकङका निजाकट खानले सर्वाधिक ४८ रनको योगदान दिए । नेपालका सन्दीप लामिछाने र सुशान भारीले २–२ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।
यो हारसँगै शीर्ष दुईमा रहदै एसिया कप छनोटमा पुग्ने नेपालको सपनामा धक्का लागेको छ । नेपालले २ खेलमा अंक जोड्ने सकेको छैन ।
उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड गएको नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो ।
अब नेपालले तेस्रो खेलमा बुधबार आयोजक थाइल्याण्डसँग खेल्नेछ ।
प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्याण्ड, सिंगापुर र हङकङले प्रतिस्पर्धा गरिरहेका छन् ।
राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।
प्रतिक्रिया दिनुहोस्