मनाङ मर्स्याङ्दी आहा रारा गोल्डकपको फाइनलमा « Imagekhabar – Online News Portal of Nepal


मनाङ मर्स्याङ्दी आहा रारा गोल्डकपको फाइनलमा


91
Shares

पोखरा, माघ १३ । मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो । पोखरा रंगशालामा खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टी सुटआउटमा मनाङका लागि फ्रान्कलिन कोटे टाला, शिव गुरुङ, रुपेश केसी र ओलावाले आफिजले गोल गरे । तर, विश्व अधिकारीको प्रहार पोस्टमा लागेर फर्किएको थियो । आर्मीका लागि कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की र विवेक बस्नेतले गोल गरे । दिपक गुरुङको प्रहार पोस्टमा लाग्दै फर्किएको थियो भने युद्ध शाहीको प्रहार मनाङका गोलकिपर अशोक बरालले बचाएका थिए । पेनाल्टी अघि दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् ।

पहिलो हाफमा मनाङका कप्तान विमल राना पेनाल्टीमा गोल गर्न चुकेका थिए । अब मनाङले फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मछिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराएर एपीएफ उपाधि नजिक पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।