पशुपति मन्दिर बन्द हुँदा मारमा साना व्यवसायी र पशुपन्छी « Imagekhabar – Online News Portal of Nepal


पशुपति मन्दिर बन्द हुँदा मारमा साना व्यवसायी र पशुपन्छी


143
Shares

काठमाडौं, माघ १३ । मुलुककै प्रमुख देवस्थल पशुपतिनाथ मन्दिर कोभिड संक्रमण जोखिम कम गर्न नित्यपूजामा सीमित गरिएपछि त्यसको चौतर्फी प्रभाव परेको छ । दर्शनार्थीको प्रवेश बन्देजसंगै पशुपतिक्षेत्रमा आश्रय बनाएर बसेका पशुपन्छीदेखि स्वरोजगार गर्नेहरुको जनजीवन समेत प्रभावित भएको छ । स्वास्थ्य मापदण्ड पूरा गरेर मन्दिर खोल्न उनीहरुले माग गरेका छन् ।

दर्शनार्थीहरुको संख्या नगन्य भएपछि भक्तजनलाई फूलमाला बेचेर जीविका चलाउनेहरुको व्यापार चौपट छ । यसअघि महिनौं मन्दिर हुँदा तहसनहस भएको पीडाको घाउ खाटा बस्न नपाउँदै फेरि भएको बन्दले उनीहरु पीडित बनेका छन् । जहान पाल्न ऋणमाथि ऋण थपिएकाले जीवन सकसपूर्ण बनेको बताउने यी व्यवसायी स्वास्थ्य मापदण्ड पूरा गरेर मन्दिर खोल्न जोडदार आग्रह गर्छन ।

त्यसो त मन्दिरको ढोका बन्द भएपनि पशुपति हातामा मानिसको बाक्लो उपस्थित देखिन्छ । स्वास्थ्य मापदण्ड ख्याल गरेको दृश्य विरलै देखिन्छ । पशुपतिको यात्रा, सिद्राको व्यापार आहानलाई मानिसको भीडले पुष्टि गर्छ । यहाँका पार्क तथा सार्वजनिक स्थलहरुमा मानिसको जमघट बढ्दो छ । यस्तो अवस्थामा मन्दिर मात्र बन्द गर्नुको कुनै औचित्य नहुने दर्शनार्थीको बुझाई छ ।

पशुपति विकास कोष भने मानव स्वास्थ्य ध्यानमा राखेरै यस्तो निर्णय भएको बताउँछ । धार्मिक स्थलमा हुने भीडले मानवीय क्षतिको जोखिम बढी हुने घटनाक्रम विश्लेषण गरेर नै मन्दिर बन्द गरिएको हो । सुधार भएको अवस्थामा तत्काल खोल्ने पशुपति विकास कोषका प्रवक्ता रेवनरमण अधिकारी बताउनुुहुन्छ ।

मन्दिर लामो समय बन्द हुँदा खान्कीको अभावमा त्यहाँका पशुपन्छी मानव बस्तीमा पस्ने गरेका उदाहरण छन् । मनकारी दर्शनार्थीहरुले बाँड्ने फलफूल र अन्न त्यहाँका जीवजन्तुको आहाराको प्रमुख श्रोत हो । यद्यपि सम्पूर्ण जीवजन्तु र पशुपन्छीको खाना तथा उपचार खर्चको जिम्मेवारी कोष आफ्नो जिम्मेवारीभित्र रहेको बताउँछ ।

मानव स्वास्थ्यलाई ध्यानमा राखी बन्द गर्ने निर्णय सकारात्मक भएपनि मन्दिरसँग जोडिएका सबै पक्षमाथि परेको प्रभावप्रति विचार विमर्श हुन जरुरी छ । एकातिर स्वास्थ्य मापदण्डका नाममा मन्दिर बन्द गर्ने अर्कातिर सत्ता र शक्ति रिझाउन चोरीबाटोबाट मन्दिर खोल्ने गरेको भनी यसअघि लागेको आक्षेप नदोहोरिनेतर्फ कोष प्रशासन सजग हुन आवश्यक छ ।