सरकारले स्थानीय तहसँग कोभिड नियन्त्रणमा समन्वय नगरेको मेयर शाक्यको आरोप « Imagekhabar – Online News Portal of Nepal


सरकारले स्थानीय तहसँग कोभिड नियन्त्रणमा समन्वय नगरेको मेयर शाक्यको आरोप


325
Shares

काठमाडौं, माघ ६ । कोभिड–१९ को तेस्रो लहरको रोकथाम तथा न्यूनिकरणका लागि सरकारले स्थानीय तहसँग समन्वय नगरेको काठमाडौं महानगरपालिकाले आरोप लगाएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा न्यूनिकरणका लागि सरकार तथा जिल्ला प्रशासनले कुनै प्रकारको समन्वय नगरेको बताउनुभएको हो । उहाँले सरकारी निर्णय कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी स्थानीय तहको भएपनि सरकारले पछिल्लो समय कोभिड–१९ को सन्दर्भमा गरेका कुनै पनि निर्णयमा महानगरको सल्लाह तथा सुझाव नलिएको बताउनुभयो । कोभिडको अघिल्ला लहरमा सरकारी संयन्त्रले स्थानीय तहसँगको समन्वयमा मात्र हरेक निर्णयहरु गरेका कारण क्षति कम बेहोर्नुपरेको भन्दै उहाँले फेरि पनि कम क्षति हुनेगरी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालय स्थानीय तहसँग समानान्तर रुपमा हिडिरहेको अनुभुति भएको उल्लेख गर्नुभयो ।

काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयले जिल्ला प्रशासन कार्यालय अथवा डिसीसीएमसीलाई तोकेको जिम्मेवारी अनुसार नै काम गरेको बताउनुभयो । प्रशासन सरकारी निर्णयको कार्यान्वयन गराउने निकाय मात्रै भएको उल्लेख गर्दै प्रशासनले छुट्टै प्रकारको निर्णय नगरेको स्पष्ट पार्नुभयो । उहाँले सबैको आ–आफ्नो भूमिका, काम, कर्तव्य र अधिकार स्पष्ट भएकाले समन्वयको अभाव नभएको जिकिर गर्नुभयो ।

उहाँले जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नेमा जोड दिएको बताउनुभयो । अन्य निकायहरुले पनि तोकिएको जिम्मेवारी अनुसार नै काम गरिरहेको उहाँको भनाई छ ।