१४ सय वर्ष पुरानो शिलालेखले खाेलेकाे रहस्य, पाटन दरबारमा बौद्ध विहार भएको पुष्टि « Image Khabar


१४ सय वर्ष पुरानो शिलालेखले खाेलेकाे रहस्य, पाटन दरबारमा बौद्ध विहार भएको पुष्टि


7.878k
Shares

नरेन्द्र मानन्धर

काठमाडौं । लिच्छवीकालमा हालको पाटन दरबार क्षेत्रमा बौद्ध विहार रहेको मानिन्छ । मल्लकालमा विहार विस्थापित गरी दरबार बनाइएको विश्वास छ । दरबार क्षेत्रमा हालै फेला परेको १४ सय वर्ष पुराना शिलालेखले इतिहासको यो तथ्य पुष्टि गरेको छ ।

लिच्छवीकालमा वृषदेवले बनाएको विहार राजा सिद्धिनरसिंह मल्लले आफ्नो दरबार विस्तार गर्दा अहिलेको रत्नाकर महाविहार रहेको स्थानमा सारिएको थियो ।

विहार भएको ठाउँमा केशवनारायण चोक निर्माण गरियो । बुधबार दरबार क्षेत्रमा फेला परेको १४ सय वर्ष पुरानो शिलालेखलाई दरबार क्षेत्रमा लिच्छविकालीन विहार थियो भन्ने तथ्य पुष्टि गर्ने बलियो प्रमाण मानिएको छ ।

ढलको खाडल खन्ने क्रममा भीमसेन मन्दिर अगाडि बौद्ध विहार उल्लेख भएको महासामन्त अंशुवर्माको शिलापत्र प्राप्त भएको हो । ६ फिट लामो अभिलेखमा बौद्ध धम्मचक्र र श्रावक मृग कुँदिएको छ । लिच्छवी संवत् ५३६ ज्येष्ठ मासे शुक्ल पक्ष प्रष्ट अभिलेखमा वृषदेव कारितक भनेर राजा बृषदेवले राजविहार बनाएको उल्लेख छ ।

१५ पंक्ति पाठ रहेको अभिलेखमा लिच्छवी लिपि र प्रौढ संस्कृत भाषा प्रयोग भएको छ । अभिलेखमा रहेको लिपिको प्रतिलिपी उतार्दै लिपिविज्ञ श्यामसुन्दर राजवंशीले शिलालेखको प्रारम्भिक अनुसन्धानबाटै दरबार क्षेत्रमा बौद्ध विहार रहेको पुष्टि भएको दाबी गर्नुभयो ।

राजा मानदेवका जिजुबुवा लिच्छवी राजा वृषदेव बौद्ध धर्मका अनुयायी भएको र काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बौद्ध चैत्य तथा विहार निर्माण गराएको इतिहास छ । शिलालेखमा योग्रङ्ग्राम र अन्तिम पंक्तिमा दूतक कुमारामात्य चन्द्रजीव नाम उल्लेख भएको छ ।

पुरातत्वविद् प्रकाश दर्नाल शिलालेख पुरातात्विक र ऐतिहासिक रुपमा निकै महत्वपूर्ण भएकोले गहन अध्ययनका साथै सुरक्षित राख्नुपर्ने बताउनुहुन्छ ।

यसले नेपालको लिच्छवीकालिन बौद्ध इतिहासलाई नयाँ मोड दिने लिपिविज्ञ राजवंशीको दावी छ । विज्ञ टोलीले शिलालेख पाटन संग्रहालयमा राखेको छ ।

यो सामान्य शिलालेख मात्र नभएर इतिहासको साक्षी हो । यसले थुप्रै अनुत्तरित प्रश्नको उत्तर दिने सामर्थ्य राख्ने भएकाले सुक्ष्म अध्ययन हुन जरुरी छ । ताकी भावी पुस्ताले नासोका रूपमा ग्रहण गर्न सकुन् ।