
नवलपरासी । चिनी मिल संचालक राकेश अग्रवालले पश्चिम नवलपरासीका उखु किसानको रकम भुक्तानी गर्ने प्रतिवद्धता जनाएका छन् ।
अग्रवाल जिल्लामा आएको जानकारी आएपछि प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले सम्पर्कमा ल्याएर भुक्तानी बारे किसान प्रतिनिधिसँग शुक्रबार छलफल गराएका थिए ।
राजनीनिक दल र संचारकर्मीसहितको छलफल कार्यक्रममा अग्रवालले उद्योग संचालनको वातावरण नहुँदा रकम भुक्तानी गर्न नसकेको बताए ।
किसानहरुले रकम भुक्तानी गर्न नसके ठगी मुद्दा दर्ता गर्ने चेतावनी दिएर उद्योगमा ताला लगाएका कारण गोदाममा भएको मोलासिस र चिनी बिक्री गर्न नपाएको उनको गुनासो छ ।
पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा सुगर एण्ड एग्रो इण्डष्ट्रिले १० करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी छ ।
अग्रवालकै सर्लाहीस्थित अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्रिले २० करोड भुक्तानी गर्न बाँकी छ ।
अग्रवालका अनुसार इन्दिरा सुगरको गोदाममा ५ करोड र अन्नपूर्णको गोदाममा ७ करोडको मोलासिस र चिनी रहेको छ ।
गोदाममा भएका सामान बिक्रीसँगै भुक्तानी गर्ने उनले बताएका छन् ।
मौखिक रुपमा उनले माघ महिनाभित्र ६ करोड भुक्तानी गर्ने सहमति गरेको उखु उत्पादक कृषि समितिका अध्यक्ष उमेश यादवले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्