
-उपेन्द्र खनाल/ ईमेज
तनहुँ । बन्दीपुरमा रहेका होमस्टेहरु यतिखेर पर्यटकले भरिभराउ छन् । पर्यटनको उपयुक्त गन्तब्यको रुपमा लिने गरिएको होमस्टेमा पर्यटकको भिड बढेपछि त्यस क्षेत्रका स्थानीयमा खुसी छाएको छ ।
तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुर आएका पर्यटक भित्र्याउन यहाँका होमस्टेलाई भ्याइनभ्याई छ । केही समययता बन्दीपुरमा दैनिक चार–पाँच सय पर्यटक पुग्ने गरेका छन् ।
जसको पहिलो आकर्षण होमस्टेनै हुने गरेको छ । गत वषमात्र्र डेढ लाख पर्यटक बन्दीपुर आएका थिए । आफैंमा पनि सुन्दर र सफा भएकाले पनि यहाँ घुम्न आउने पर्यटकहरु बन्दीपुर प्रति आकर्षित हुने गरेका हुन् ।
बजार क्षेत्रमा बिछ्याइएको ढुङ्गा र कलात्मक बुट्टेदार घर त्यहाँको मुख्यआकर्षण हो । घुम्न पनि पाइने र होमस्टेको अनुभव बटुल्न पनि पाइने भएकाले उनीहरुको रोजाइमा बन्दीपुर पर्ने गरेको छ ।
यहाँ पुग्ने पाहुनाहरुले फुलमालासहित स्थानीय कला, संस्कृति र अर्गानिक खानाको स्वाद लिन सक्ने छन् । बजार क्षेत्रमा सञ्चालित चार वटा होमस्टे पछिल्लो समय भरिभराउ हुन थालेका छन् ।
त्यसैले होमस्टेमा बस्न चाहने पाहुनाहरु पहिले नै खबर गरेर आउँदा सहज हुने विन्दबासिनी होमस्टेकी अध्यक्ष शान्ती कायस्थ बताउँछिन् । पर्यटनको प्रचुर सम्भावना भएकाले गण्डकी प्रदेश सरकारले पनि होमस्टेलाई प्राथमिकतामा राखेको छ ।
बन्दीपुरमा रहेको सामुदायिक होमस्टेको केहि दीन अगाडी गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरेका थिए ।
फुर्र्सिदला महिलाहरु मिलेर संचालन गरेको होमस्टेले आयस्तरमासमेत वृद्धि भएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैस गुरुङको भनाइ छ ।
जाडोको समयमा पनि खासै चिसो नहुने र गर्मीको समयमा पनि चिसो हावा चल्ने भएकाले अधिकांशको रोजाइमा यो ठाउँ पर्ने गरेको छ ।
होमस्टेलाई प्रबद्र्धन गर्न गाउँपालिकाले समेत सहयोग गर्दै आइरहेको बन्दीपुर गाउँपालिकाका प्रशासकिय अधिकृत नरहरी सापकोटा बताउँछन् ।
होमस्टेबाटै स्थानीयले अहिले मासिक तीस हजारसम्म आम्दानी गरिरहेका छन् । होमस्टेको प्रबद्र्धन गरी ग्रामीण भेगका स्थानीयको आयस्तर बढाउन विभिन्न प्याकेज बनाइ भरपुर मनोरञ्जन दिनु आवश्यक छ ।
यसबाट नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनसमेत टेवा पुग्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्