‘ए’ डिभिजन लिगमा मनाङ शीर्ष स्थानमा « Image Khabar


‘ए’ डिभिजन लिगमा मनाङ शीर्ष स्थानमा


0
Shares

काठमाडौं, मंसिर २४ । मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–० ले पराजित गर्दै मनाङ शीर्षस्थानमा उक्लिएको हो ।

अपराजित रहेको मनाङको ४ खेलबाट १० अंक पुगेको छ । एक खेल कम खेलेको सातदोबाटो र मच्छिन्द्रको ७ अंक छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङको जितमा नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो अफिज र दिनेश राजवंशीले गोल गरे ।

पराजित फ्रेन्ड्स ४ खेलबाट २ अंक जोडेर १२ औं स्थानमा झरेको छ । समान दुई अंक नै रहेपनि फ्रेन्ड्स गोलअन्तरमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लब भन्दा पछि परेको छ ।

आजै भएको दोस्रो विभागीय टिम त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबमाथि २–० को जित निकाल्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन जर्ज प्रिन्स कार्की र जगजित श्रेष्ठले एक एक गोल गरे ।

योसँगै आर्मीले च्यासलमाथि तेस्रो भेटमा समेत जित निकाल्न सफल भएको छ । आर्मीले च्यासलविरुद्ध अहिलेसम्म हार व्यहोरेको छैन । यस जितसँगै आर्मीले ४ खेलमा ८ अंक जोडेको छ । च्यासल ४ खेलमा ४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।