
काठमाडौं, कात्तिक १४ । काठमाडौंको चाबहिलस्थित तरकारी तथा फलफूलबजारमा पनि विद्युतीय कारोबार गर्ने व्यवस्था गरिएको छ ।
आइतबार एक कार्यक्रम गरी सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले क्यूआर कोड हस्तान्तरण गरेसँगै सो बजारमा पनि विद्युतीय भुक्तानी गर्ने व्यवस्था गरिएको हो । यो व्यवस्थासँगै व्यापारी र उपभोक्ता दुवैले सहज ढंगले मालसामन खरिद गर्न र गराउन सजिलो भएको प्रमुख कार्यकारी अधिकृत शर्माले बताउनुभयो ।
काठमाडौं महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले सो तरकारी तथा फलफूल बजारमा पनि विद्युतीय कारोबारबाट भुक्तानी गर्ने काम सुरु भएसँगै नगद बोकेर हिँडनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । उहाँले विद्युतीय कारोबारले खरिद बिक्रीको कामलाई सजिलो बनाइ दिएको पनि स्पष्ट पार्नुभयो ।
यसैबीच, तरकारी किन्न आएका ग्राहकहरुले पनि विद्युतीय कारोबारबाट भुक्तानी गर्ने सो व्यवस्थाले आफूहरुलाई सहज बनाइ दिएको प्रतिक्रिया दिएका छन् । तरकारी किन्नका लागि सो बजारमा पुग्नु भएका सफल श्रेष्ठले विद्युतीय भुक्तानी गर्ने सो कारोबारले आफूहरुलाई धेरै सजिलो भएको बताएका छन् ।
उनीहरुले विद्युतीय भुक्तानीबाट सो बजारमा तरकारी किन्न पाउने व्यवस्थाले सजिलो भएको प्रतिक्रिया दिए ।
प्रतिक्रिया दिनुहोस्