२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


दशरथ रंगशालामा खेलाडीहरुबीच झडप, छुट्याउन प्रहरी नै मैदानमा


0
Shares

काठमाडौं, पुस २१ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका सोमबार भएका दुवै खेलहरु बराबरीमा सकिएका छन् ।

दशरथ रंगशालामा भएका पाँचौं चरणका खेलमा मनाङ–मर्स्याङ्दी क्लबले मच्छिन्द्र क्लबसित तथा जावलाखेल युथ क्लबले न्यूरोड टिम (एनआरटी)सित बराबरी खेलेको हो ।

मनाङ २–२ मच्छिन्द्र

मनाङ र मच्छिन्द्रबीचको खेल २–२ गोलको बराबरीमा सकियोे ।

गोलकर्ता

खेलको दोस्रो मिनेटमै फेमीको गोलबाट मनाङले अग्रता लिएकामा सुजल श्रेष्ठले ४६औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई बराबरीमा ल्याएका थिए ।

८१औं मिनेटमा सोमिदेको गोलबाट मच्छिन्द्रले २–१ ले अग्रता लियो । तर, ८८औं मिनेटमा विमल रानाले गोल गर्दै मनाङलाई बराबरीमा ल्याएका थिए ।

अन्तिम केही मिनेटमा मच्छिन्द्रले लगातार गोलको प्रयास गरे पनि सफल हुन सकेन ।

झडप

खेल सकिएपछि भने मैदानमै खेलाडीहरुबीच झडप भएको थियो ।

भिडन्त बढ्दै गएपछि प्रहरी नै मैदानभित्र गएर खेलाडीहरुलाई छुट्याउनुपरेको थियो ।

रातो कार्ड

‘बेन्च’मा बसेका खेलाडीहरुसमेत मैदानमा छिरेर विपक्षी टोलीका खेलाडीहरुमाथि प्रहार गरेका थिए ।

सोक्रममा मनाङका रन्जन विष्टलाई रेफ्रीले रातो कार्ड देखाएका थिए ।

जावलाखेल–एनआरटी गोलरहित बराबरी

सोमबारै दशरथ रंगशालामा भएको पहिलो खेलमा जावलाखेल र एनआरटीले गोलरहित बराबरी खेले ।

मनाङ शीर्षमै

सोमबारका खेलपछि लिगको अंकतालिकामा मनाङ शीर्ष स्थानमा कायमै रहेको छ ।

मनाङ ११ अंकसहित पहिलो तथा मच्छिन्द्र १० अंकसहित दोस्रो स्थानमा छ ।

त्रिभुवन आर्मी क्लब र जावलाखेलको समान ९ अंक रहेको छ ।

मंगलबारको खेल

पाँचौं चरणको तेस्रो खेलमा मंगलबार दिउँसो ३ बजे हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब दशरथ रंगशालामा खेल्नेछन् ।