
काठमाडौं, साउन १७ । पहिलो आधीआवाधी महिला भलिबल लिग प्रतियोगिता आगामी भदौमा हुने भएको छ ।
भारतको आधीआवाधी फाउन्डेसनको सहयोगमा नेपाल भलिबल संघले काठमाडौंमा आयोजना गर्ने उक्त प्रतियोगितामा ६ टिमले सहभागिता जनाउनेछन् ।
तीन विभागीय टिम, काठमाडौं क्विन्स, चितवन टाइग्रेस र पोखरा पिन्केज गरी ६ टिम सहभागी हुने प्रतियोगिताको विजेताले ६ लाख, उपविजेताले तीन लाख तथा तेस्रो हुने टिमले डेढ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
सर्वोत्कृष्ट एक खेलाडीले एउटा टीभीएस स्कुटरसँगै ५० हजार रुपैयाँ पुरस्कार पाउनेछिन् ।
प्रतियोगितालाई सशक्त बनाउन भारतीय सिनेकर्मीहरु रबिना टन्डन, पूजा गौर, रिशिका सिंह, प्राची तेलन, सोनिया शर्मा र रितु दुधानीलाई सद्भावनादूतसमेत बनाइएको छ ।
१० वर्षका लागि सम्झौता गरेको आधीआवाधीले हरेक वर्ष १५ लाख रुपैयाँ दिने सहमति गरेको छ ।
गत वर्ष सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरे पनि भौतिक पूर्वाधार र प्रतियोगिताका लागि विशेष बजेट विनियोजन नगरेपछि भलिबल संघले व्यवसायीकरण गर्न आधीआवाधीसँग हातेमालो गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्