६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


कीर्तिमान राख्न स्पेनका ८२ वर्षीय आरोही धौलागिरिमा

बाह्रौं पटकको प्रयास सफल हुनेमा विश्वस्त

0
Shares

ध्रुवसागर शर्मा
म्याग्दी । आठ हजार मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने उदेश्यसहित आरोहणमा निस्किएका स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया धवलागिरि ‘बेसक्याम्प’ आइपुगेका छन् ।

धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोसले दुई दशकयता ११औं पटक आरोहण गर्दा पनि शिखरमा पाइला राख्न सफल भएका छैनन् । संसारको सातौं अग्लो धवलागिरि प्रथम (८,१६७ मिटर) आरोहण गर्न कार्लोस फोन्टेन बेस क्याम्प पुगेका हुन् ।

यसअघि ८ हजार ५० मिटर उचाइसम्म पुगेका कार्लोस् १ सय १७ मिटर माथि पुग्न नसक्दा फेरि आएका हुन् । यसपटक भने सफल हुनेमा उनी विश्वस्त छन् । सबैभन्दा बढी उमेरका पर्वतारोहीको कीर्तिमान राख्ने अभियानमा रहेका उनले धवलागिरि बाहेक तिब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ ।

कार्लोसले ७५ वर्षको उमेरमा कन्चनजंघा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । ६२ वर्षको उमेरमा सगरमाथा शिखरमा पाइला चुम्न सफल भएका थिए ।

यो सिजनमा पूर्णिमा श्रेष्ठ, माया शेर्पा गरी चार नेपाली महिलासहित ४० जना धवलागिरि आरोहण क्रममा छन् । कार्लोस र नेपाली महिला आरोही सेप्टेम्बर १३ मा म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौरबाट हेलिकोप्टरमा धवलागिरिको सबैभन्दा तलको इटली क्याम्प उत्रेका हुन् ।