दिपेन्द्र अधिकारी
काठमाडौं । कोरोना संक्रमण त्रासका कारण पटक–पटक स्थगित कक्षा १२ को परीक्षा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै भौतिक उपस्थितिमै सुरु भएको छ ।
सरकारले परीक्षामा सहभागी सबै विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाएको दाबी गरको छ । तर, परीक्षामा सहभागी ३ लाख ७४ हजार परीक्षार्थीमध्ये ८ सय ८० जना त १८ वर्ष भन्दा कम उमेरका छन् । राष्ट्रिय परीक्षा बोर्डले दाबी गरे पनि १८ वर्ष भन्दा कम उमेरकासहित धेरै विद्यार्थीले खोपको मुखै देख्न पाएका छैनन् ।
राष्ट्रिय परीक्षा बोर्डले कोभिड–१९ संक्रमित विद्यार्थीका हकमा पछि परीक्षा दिने व्यवस्था गरेको छ । यसअघि दुई पटकसम्म तालिका प्रकाशित गरेर स्थगित भएको परीक्षा तेस्रो प्रयासमा सम्भव भएको हो ।
पटक–पटक परीक्षा स्थगित हुँदा विद्यार्थीको तयारीमा पनि असर परेको छ । एकपटक तयारी गरेर बसेका आफूहरूस्थगित भएपछि अन्योलमा परेको विद्यार्थीको गुनासो छ । अहिलेको परीक्षा पनि हुने–नहुनेमा विद्यार्थी दुविधामा छन् ।
परीक्षाका लागि ४ हजार ३ सय १५ विद्यालयमा होम सेन्टर कायम गरिएको छ । इन्टरनेट नपुगेका १ सय १३ परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइएको छ भने बाँकी केन्द्रमा परीक्षा हुनु आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पुगेको छ ।
मापदण्ड बमोजिम २ मिटर दूरीसहित अंग्रेजी अक्षर जेड ढाँचामा परीक्षा केन्द्रमा परीक्षार्थीको सिट प्लान गरिएको, हेल्थडेक्स राखिएको, ज्वरो परीक्षण गरेर मात्र विद्यार्थी प्रवेश गराइएको, अनिवार्य रूपमा सेनिटाइजर र मास्क प्रयोग गराइएको, एउटा कक्षामा २५ जनामात्रै विद्यार्थी राखिएको दाबी गरिएको छ ।
अनिवार्य र ऐच्छिक गरी कक्षा १२ मा करिब ९० विषयको परीक्षा हुनेछ । परीक्षा बोर्डले यो पटक १ सय पूर्णाङ्कमा परीक्षा भएको जनाएको छ । बोर्डको प्रदेश कार्यालय र सम्पर्क कार्यालयमा उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।
विश्वविद्यालय तहमा भर्ना हुन र अन्य पाठ्यक्रममा पढ्न क्यालेण्डर प्रभावित नहुने गरी छिट्टै परीक्षाफल निकाल्ने बोर्डको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्