काठमाडौं, भदौ २७ । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिनुभएको छ ।
भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन भन्दै मालवस्तुको वर्गिकरण र मूल्याङ्कनमा इमान्दारिता कायम गरी राजश्व संकलन बृद्धि गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
भेइकल स्क्यानर जडान भएपछि भन्सार विन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका मालवस्तु ‘म्यानुअल्ली’ चेकजाँच गर्नुपर्दैन । कार्यक्रममा अर्थसचिव मधु कुमार मरासिनीले सुधार, सहजीकरण र सुशासन गरी भन्सार प्रशासनले तीन ‘स’ को अवधारणामा काम गर्नुपर्ने बताउनु भयो । उहाँले सरुवाको लागि कुनै पनि दल, नेता वा संगठनको फोन लगाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिनुभयो ।
राजश्व सचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमान्दारितामाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगहरुको संरक्षण र प्रोत्साहन गर्नेगरी नीति आएकोमा सरकारलाई धन्यवाद दिनुभयो ।
भन्सार विभागका महानिर्देशक नारायण प्रसाद सापकोटाले लक्षअनुसारको राजश्व संकलन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्