बाँदर आतंक : बाली सखाप पारेपछि बारी बाँझो राख्न बाध्य स्थानीय « Image Khabar


बाँदर आतंक : बाली सखाप पारेपछि बारी बाँझो राख्न बाध्य स्थानीय

घरभित्र राखेका मकै र चामल पनि सत्यानाश

Border circle
Imagekhabar

प्रकाश लिम्बु
तेह्रथुम । कहिले प्राकृतिक प्रकोप त कहिले वन्यजन्तुको आतंकले पीडित बन्दै आएका तेह्रथुमको पश्चिमी क्षेत्रका बासिन्दा बसाइँ सर्न थालेका छन् ।

केही वर्ष अघिसम्म यही खेतबारीमा फलाएको अन्नबालीबाट राम्रो आम्दानी हुन्थ्यो । आफूले खाएर बचेको अन्नले परिवारको गर्जाे टार्न सकिन्थ्यो । तर, अहिले लगाएको अन्नबाली सबै बाँदरले सखाप बनाएपछि यहाँका बासिन्दा पिरोलिएका छन् ।

बाँदरले मकैलगायतका अन्नपात सखाप बनाएपछि खेतीयोग्य जमिन बाँझो हुन थालेका छन् । टारी खेतदेखि फाँटसम्म यतिबेला झोरझाडी जंगल झैँ बनेका छन् । मानवबस्ती पातलिएसँगै बाँदरले झन् दुःख दिन थालेपछि बाँकी रहेका केही घर परिवार पनि बसाइँ सर्ने तरखरमा छन् ।

थन्काएको बालीसमेत घरमै पसेर नष्ट गरेपछि गाउँ नै छाड्न बाध्य भएको स्थानीय डम्बरबहादुर कार्कीको गुनासो छ । ‘किनेर ल्याएको मकै र चामलसमेत घरमै पसेर खाइदिन्छ’, उहाँ भन्नुहुन्छ, ‘आफ्नै घरमा पनि सुरक्षित भइएन अब ।’

दिनदिनै बाँदरले दुख दिन थालेपछि सिङगो बस्तीमा अहिले तीन घर मात्रै बाँकी रहेको स्थानीय नेत्रहादुर थापा बताउनुहुन्छ । अर्कोतिर जंगलसँगै जोडिएका बस्तीहरुमा मृगलगायतका जंगली जनावरले समेत सताउन थालेको छ । खेती लगाएको बाली नष्ट भएपछि जिउने आधार नहँुदा सर्वसाधरण बसाइँ सर्न बाध्य भएको शेरबहादुर कार्कीको भनाइ छ ।

वन्यजन्तुको आतंकले यस क्षेत्रका नागरिक त्रसित बनेका छन् । पाक्न लागेको कोदो, मकैलगायतका अन्नबाली र नास्पाती, केरा, अम्बालगायतका फलफूलसमेत बाँदरले सखाप बनाएका छन् । बाँदरकै आतंकले घर छाड्ने अवस्था उत्पन्न नहोस् भन्नका लागि स्थानीय सरकारले वैकल्पिक उपाय बेलैमा सोच्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्