१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


विश्वकप फुटबलमा आयोजक रुसको विजयी सुरुवात


0
Shares

काठमाडौं, असार १ । विश्वकप फुटबलमा आयोजक रुसले विजयी सुरुवात गरेको छ ।

विश्वकप फुटबल २०१८ को पहिलो खेलमा आयोजक रुसले साउदी अरेबियालाई ५–० ले पराजित गर्दै शानदार सुरुवात गरेको हो ।

रुसको जितमा परिवर्तित खेलाडी डेनिस चेरिशेभले दुई गोल गरे । खेलको १२ औं मिनेटमा युरी गाजिन्स्कीले गोल गर्दै आयोजक राष्टलाई अग्रता दिलाए । ४३ औं मिनेटमा चेरिशेभले गोल गर्दै रुसको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा रुसले अझ आक्रामक खेल देखायो । सब्स्टीच्युट खेलाडी आर्तेम जुबाले ७१ औं मिनेटमा एक गोल थप्दै रुसको जित पक्का गरे ।

खेलको अन्तिम मिनेटमा चेरिशेभले व्यक्तिगत दोस्रो गोल गरेपछि रुसको अग्रता ४–० पुग्यो । इन्जुरी समयमा पाएको फ्रि किक प्रहारमा अलेक्जान्डर गोलोभिनले निकै आकर्षक गोल गरेपछि एसियाली मुलुक साउदी अरेबिया ५–० ले पराजित भयो ।

जितसँगै रुसले आफ्नै भूमिमा भएको विश्वकपमा अन्य सहभागि टोलीलाई बलियो सन्देश दिंदा साउदी अरेबियाको लागि भने यो दिन बिर्सन लायक बन्यो ।

रुसले समूह चरणको दोस्रो खेलमा आगमी मंगलवार ईजिप्टसँग खेल्दा साउदी अरेबियाले बुधवार उरुग्वेसँग खेल्नेछ ।

विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समूह ए को दोस्रो खेलमा आज ईजिप्टले उरुग्वेको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार आज साँझ पौने ६ बजे सुरु हुनेछ ।

आजै समूह बी का दुई खेल हुनेछन् । बेलुकी पौने ९ बजे मोरक्को र ईरान भिड्दा राति पौने १२ बजे स्पेन र पोर्चुगल आमने सामने हुनेछन् ।

यो खेललाई समूह चरणको सबैभन्दा कठिन खेलको रुपमा हेरिएको छ । यो खेलमा पराजित हुने टोलीको अघिल्लो चरणको यात्रा कठिन बन्नसक्छ ।

क्रिश्चियानो रोनाल्डोको पोर्चुगल साविक युरोपियन च्याम्पियन हो । दुई वर्षअघि युरो च्याम्पियनसिप जित्दा फाईनलमा फ्रान्सलाई हराएको पोर्चुगिज टिममा अहिले पनि तिनै खेलाडीहरुको बाहुल्यता छ ।

उता स्पेनमा पनि विश्कै चर्चित खेलाडीहरु छन् ।