१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


भाइले छिमेकीसँग मिलेर गरे दाजुको सिंगो परिवारकै हत्या


0
Shares

शिवहरि भट्टराई (इमेज)

राजविराज, साउन १५ । सप्तरीको राजविराज नगरपालिका–१५, मुसहरनियाँमा सिंगो परिवारको हत्या भएको तथ्य सार्वजनिक भएको छ ।

नागरिकता बनाउने विषयमा विवाद हुँदा छिमेकीहरुसँग मिलेर भाइले दाजुको परिवारकै हत्या गरेको प्रहरीले जनाएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरेर प्रहरीले उक्त घटनाको खुलासा गरेको हो ।

हत्या गरिएकाहरुमा ५३ वर्षीय सूर्यनारायण साह, उनकी गर्भवती पत्नी १७ वर्षीया वेचनीदेवी साह र दुई वर्षीया छोरी प्रतिभा साह रहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार मृतक सूर्यनारायणका सहोदर भाइ ४५ वर्षीय ‘मुर्जा’ भनिने पञ्चदेव साह, बुहारी ३७ वर्षीया प्रमिलादेवी साह तथा छिमेकीहरु २४ वर्षीय धर्मेन्द्र साह, ५० वर्षीय ‘थापा’ भनिने जीवन साह र ३६ वर्षीय सत्यनारायण साह घटनामा संलग्न रहेका छन् ।

हत्यामा संलग्न पाँचैजनालाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ ।

गत जेठ ३१ गते राति वेचनीको शव घरनजिकै रहेको ट्वाइलेटको सेफ्टीट्यांकीभित्रबाट बरामद भएको थियो ।

पतिले नै हत्या गरेको भन्दै मृतक वेचनीका माइतीपक्षले दिएको जाहिरीका आधारमा प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो ।

अनुसन्धानकाक्रममा भाइकै संलग्नतामा दाजुको सिंगो परिवारको हत्या भएको रहस्य खुलेको प्रहरीले जनाएको छ ।

हत्या गरेर सूर्यनारायण र उनकी छोरी प्रतिभाको शव कोसी पश्चिमी नहरको खाँडो ‘साइफन’मा गाडेको बयान पक्राउ परेकाहरुले दिएका छन् । उनीहरुको बयानका आधारमा शव उत्खनन्का लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

तर, नहरमा अत्यधिक पानी रहेका कारण शव उत्खनन् भने हुन नसकेको प्रहरीको भनाइ छ ।