
काठमाडौं, जेठ ३१ । विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करण बिहीबारदेखि रुसमा सुरु भएको छ ।
रुसी राजधानी मस्कोस्थित लुजिन्स्की रंगशालामा भव्य उद्घाटन समारोहबीच प्रतियोगिता सुरु भएको हो ।
उद्घाटन समारोहलाई रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोलगायतले सम्बोधन गरेका थिए ।
आधा घन्टासम्म चलेको उद्घाटन समाहारोमा विश्व फुटबलका हस्तीहरू डिएगो म्यारोडाना, जिकोलगायतको उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा ३२ ओटै टिमका खेलाडी उपस्थित भएका थिए ।
जहाँ ब्राजिलबाट दुईपटक विश्वकपको ट्रफी उचालेका रोनाल्डो पनि देखिएका थिए ।
उद्घाटन समारोहमा लुजिन्स्की रंगशालामा ८० हजार दर्शक उपस्थित भएको आयोजकको दाबी छ । रंगशालाको दर्शक क्षमता ८१ हजार रहेको छ । यही रंगशालामा जुलाई १५ तारिखमा विश्वपको फाइनल खेल हुनेछ ।
उद्घाटन समारोहमा बेलायती गायक रोबी विलियम्स, रुसी गायिका सोप्रानोलगायतले प्रस्तुति दिँदा ५०० भन्दा बढी डान्सर र जिमन्यास्टहरूले आफ्नो कला देखाएका थिए ।
विश्वकप फुटबल सुरु हुँदैगर्दा रुसमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । विश्वभर हुल्याहा समर्थकको छवी बनाएका रुसी समर्थकलाई नियन्त्रण गर्नु रुसी आयोजकको मुख्य चुनौती रहेको छ ।
त्यसबाहेक पछिल्लो समय युरोपका भीडभाडयुक्त ठाउँलाई निशाना बनाउँदै आएका आतंकवादी सम्भावित आक्रमण निस्तेज पार्नु रुसी सुरक्षा संयन्त्रको अर्को मुख्य चुनौती हुनेछ ।
जुन २०१५ को प्रारम्भिक ‘ड्र’बाट सुरु भएको रुसी विश्वकपको यात्रा १५ जुलाईमा सकिनेछ ।
विश्वकपका विभिन्न ६४ खेल रुसका ११ सहरका १२ रंगशालामा हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्