Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


महानगरकै व्यापारीक संस्थाले तिरेनन् सम्पत्ति कर, तीन दिनको म्याद


0
Shares

काठमाडौं, साउन १३ । काठमाडौं महानगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै तीन दिन भित्र घर जग्गा सम्पत्ति लगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ ।

महानगरपालिकाकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका करिव २३ वटा ठूला करदाताको कार्यालय स्थलमै पुगेर माईकिङ गर्दै आजबाट ३ दिन भित्र अर्थात् साउन १६ गत भित्र सम्पत्ति कर बुझाउन ताकेता गरेको हो ।

उनीहरुबाट करिव ७० करोड कर असुली गर्न बाँकी रहेको अनुमान गरिएको छ । तोकिएको समय भित्र पनि अटेर गरेर कर नतिरे ती करदाताहरुको व्यवसायमा तालाबन्दी गर्ने, सम्पत्ति रोक्का गर्नेसहितको कडा कारवाही गर्ने काठमाडौं महानगरपालिकाको राजस्व विभागका विभागीय प्रमुख डा. शिवराज अधिकारीले बताउनुभयो ।

काठमाडौं महानगरपालिका राजस्व विभागको कार्यालयले गत असार ३० गते जारी गरेको सार्वजनिक सूचनामा पटक पटक ताकेता गर्दा पनि सम्पत्ति कर नबुझाउनेहरुमा कान्तिपुर डेन्टल हस्पिटल, चिरायू हस्पिटल, देवेन्द्रलाल श्रेष्ठ, एनआरटी क्लव, युनाईटेड वल्र्ड ट्रेड सेन्टर, बुद्धबारी कम्प्लेक्स रहेका छन् ।

यसैगरी, बागमती च्याम्बर, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल क्षयरोग केन्द्र, नेपाल रेडक्रम सोसाईटी, आदर कम्प्लेक्स, नेशनल हस्पिटल, शहीद मेमोरियल हस्पिटल, कृषि सामग्री संस्थान पनि कर तिर्न अटेरी गर्नेमा रहेका छन् । त्यसैगरी मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, सुरज आर्केड, शुभश्री कोअपरेटिभ, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, गोपालजी प्रोपर्टिज र स्टारमलसमेत गरेर २३ वटा ठूला कर दाताले अटेर गरेपछि ३ दिन भित्र कर असुल गर्न माईकिङ समेत गरेर ताकेता गर्नु परेको महानगरले जनाएको छ ।

विभागीय प्रमुख अधिकारीले कतिपय करदाताहरुलाई अदालतले समेत तत्काल कर दाखिला गर्न आदेश दिँदा पनि अटेर गरिरहेको बताउनुभयो । राजस्व विभागले सम्पत्ति कर सम्बन्धित वडा कार्यालयबाटै उठाउँदै आएको छ ।

तर ठूला करदाताहरुले कर नतिर्न अदालत जानेलगायतका काम गरेपछि असुलीको काम आफैले गर्नु परेको पनि विभागीय प्रमुख अधिकारीले स्पष्ट पार्र्नुभयो । तत्काल सबैै सम्पत्ति कर असुली गर्न समस्या भए वर्ष दिन भित्र ३ वटा किस्तामा दाखिला गर्न पनि राजस्व विभागले करदाताहरुलाई सूचित समेत गरेको छ ।

Skip This