सार्वजनिक सवारीको भाडा यात्रु मारमा, व्यवसायी भन्छन्- ‘हर्ष न बिस्मात’ « Image Khabar


सार्वजनिक सवारीको भाडा यात्रु मारमा, व्यवसायी भन्छन्- ‘हर्ष न बिस्मात’


Imagekhabar
३१ असार २०७८, बिहीबार १८:३८

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा बढाएको छ । विभागले यात्रुबाहक सवारी साधनको भाडा २८ प्रतिशत, पहाडमा चल्ने मालवाहक सवारी साधनमा २० प्रतिशत र तराईमा चल्ने मालबाहक सवारी साधनमा २६ प्रतिशत भाडा बढाएको हो ।

सार्वजनिक सवारीको भाडा बढेसँगै आम नागरिकको स्तरबाट विरोध भइरहेको समयमा यातायात व्यवसायीले भने यसलाई सामान्य रुपमा लिएका छन् । हरेक वर्ष हुनुपर्ने भाडा समायोजन लामो समयसम्म हुन नसकेकाले समायोजन गरिएको भाडा वृद्धि धेरै देखिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य बताउनुहुनछ ।

उहाँ भन्नुहुन्छ, ‘व्यवसायीहरूलाई हर्ष न बिस्मात, लागिराखेको घाउमा मल्हम लगाउने काम मात्र भयो ।’

निरन्तर उकालो लागेको पेट्रोलियम पदार्थको मूल्य, चालक, सहचालकको खर्च र सवारी साधनमा हुने मर्मतलगायत अरु विभिन्न खर्चका आधारमा भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । तर, सरकारको यो कदमबाट आम नागरिक भने खुसी छैनन् । कोरोनाका कारण चपेटामा परेका नागरिकलाई सरकारले राहत दिनुपर्नेमा सार्वजनिक सवारीको भाडा वृद्धिले आहत दिएको आम नागरिकको गुनासो छ ।

सार्वजनिक सवारी तथा ढुवानी गर्ने यातायताको भाडा वृद्धिले बजारमा महंगी बढाउनेछ । जसको प्रत्यक्ष मारमा आम नागरिक पर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्