Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


द्वन्द्वका दु:खले अझै छाडेन – सात वर्षदेखि साङ्लोमै


0
Shares

रुकुमपूर्व । दुई बित्ता लामो दाह्री जुङ्गा, उत्तिकै लामो कपाल । हात र खुट्टामा लामालामा नङ छन् । शरीरमा फोहरैफोहर देखिन्छ ।

कैदीलाई जस्तै उनको दुबै हातमा फलामको साङ्लो बाँधिएको छ । त्यहीँ दिसा पिसाब गर्छन् । यस्तै जीवन बिताइरहेका छन् भुमे गाउँपालिका– काँक्रीका ४४ वर्षीय सिङबहादुर दमाई ।

उनी विगत १३ वर्षदेखि नारकीय जीवन व्यतित गर्दै आएका छन् । सात वर्षदेखि उनको दुबै हातमा साङ्लो बाँधिएको छ । दमाई बन्द कोठामा जीवन बिताइरहेका छन् ।

२०६३ माघमा उनका भाइ रुपचन्द्रको घरमा लुकाई राखेको बम विष्फोट भएको थियो । सो घटनामा उनका भाइ र बुहारीको मृत्यु भयो । सिङबहादुर भने त्यति बेलादेखि अचेत अवस्थामा छन् ।

भाइको घरमा विष्फोट हुँदा सिङबहादुर आफ्नो घरको बार्दलीमा कपडा सिलाउँदै थिए । उनी भूईमा खसे । “त्यति बेलादेखि उ अचेत अवस्थामा छ”, सिङबहादुरकी ६४ वर्षीया आमा देमुले भनिन् ।

बेसुरमै गाउँमा मान्छेलाई कुट्ने, जथाभावी बोल्ने तथा ढुङ्गाले हान्न थालेपछि उनको दुबै हात साङ्लोले बाँधिएकोे स्थानीयवासीले बताए ।

उनको अवस्था देखेर विवाह गरेको एक वर्षमै श्रीमती अन्तै पोइल गइन् । “आँशु नझरेको, भरी पेट खाना खाएको र मनमा पीर नभएको कुनै दिन छैन”, आमा देमुले भनिन् ।

दिनभरि अर्काको घरमा काम गरी छिमेकीबाट ऐचोपैचो गरेर आफू भोकै रहेर भए पनि छोराको पेट भर्ने गरेको उनले सुनाइन् ।

भएको सबै सम्पत्ति बेचेर भैरहवा र बुटवल अस्पतालमा लगेर उपचार गरेको आमा देमुले सुनाइन् । “नौ लाख रुपैयाँ खर्च भयो, छोरालाई निको भएन”, उनले भनिन् ।

सबै सम्पत्ति छोराको उपचारमा सकिएपछि अहिले सम्पत्तिको नाममा देमुसँग भत्केको घर र सानो खेत मात्र बाँकी छ ।

बूढेसकालमा देमुलाई छोराले स्याहारसुसार गर्ने उल्टै उनले छोराको पालनपोषण गर्नुपरेको छ । देमुले भनिन्, “छोरा सधैँ भत्केको घरमा एक्लै नाङ्गै सुत्छ, ओढ्ने, ओछ्याउने र लगाउने लुगा छैन ।”

उनी घरमा बस्न खान समस्या भएपछि गाउँलेकहाँ शरण लिएर बसेकी छिन् । सरकारबाट द्वन्द्वपीडितले पाउने राहतसमेत नपाएको उनले बताइन् ।

सिङबहादुर देमुको हाल जिवित एक्लो छोरा हुन् । उनका श्रीमानको मृत्यु भइसकेको छ । जनयुद्धको घाउले केवल आँशु र पीडा मात्र दिएको देमुको दुःखेसो छ ।रासस

Skip This