
– नवीन सिंह/ईमेज
धनुषा । ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरधाममा विवाह पञ्चमीको तयारी विशेष धुमधामका साथ भइरहेको छ ।
हरेक वर्षको मंसिर शुल्क पञ्चमीका दिन मनाइने विवाह पञ्चमी महोत्सव यो वर्ष मंसिर १६ गते परेको छ ।
जसको तयारीस्वरुप जानकी मन्दिर परिसरको सरसफाइ र सिँगारपटार भइरहेको छ । पवित्र तथा पावनताको भूमि जनकपुरधाममा आगामी १६ गते मनाइने विवाह पञ्चमीको रौनकता सुरु भएको छ ।
महोत्सवस्थल जानकी मन्दिर र रंगभूमि मैदान दुलहीझैै सिंगारिदै छ । जसको लागि कामदाहरु दिनरात खटिरहेका छन् ।
प्रत्येक ५ वर्षमा अयोध्याबाट विशेष जन्ती आउने परम्पराअनुसार यो वर्ष भारतको बिजेपी पार्टीका अध्यक्ष एवं गृहमन्त्री अमित साह र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई समेत निमन्त्रण गरिएको छ ।
विवाह पञ्चमी महोत्सवमा भारतीय गृहमन्त्री साह र मुख्यमन्त्री आदित्यनाथ आउने भएकाले पनि यसवर्ष विशेष तयारी थालिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।
महोत्सवमा अयोध्याबाट ५ सयको संख्यामा जन्ती आउने बताइएको छ । १२ गते साँझसम्म अयोध्याबाट जन्ती आउने र र १३ गते तिलकोत्सवलगायतका औपचारिक कार्यक्रम गर्ने तयारी छ ।
सप्ताहव्यापी रुपमा मनाइने महोत्सवको विधिवत् कार्यक्रम मंसिर १० गतेदेखि सुरु हुने महन्थ दासको भनाइ छ ।
महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न सुरक्षा प्रबन्ध, मञ्च निर्माण तथा जन्ती व्यवस्थापनलगायतका कामका लागि विभिन्न उपसमिति गठन गरी काम अघि बढाइएको छ ।
विवाह पञ्चमीमा सहभागी हुने लाखौं श्रद्धालुहरुको शौचालय र पानीको व्यवस्थापनसहित नगरको सरसफाइलगायतका तयारी भइरहेको जनकपुर उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साह बताउँछन् ।
महोत्सवमा नेपालसहित भारतबाट लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरु आउने भएकाले सुरक्षा व्यवस्थाका लागि करिब ३२ सय प्रहरी परिचालन गरिने धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
सुरक्षाको लागि २ हजार ३ सय ३० जना जनपद प्रहरी, १ सय १६ ट्राफिक प्रहरी र ७ सय ८ जना सशस्त्र प्रहरी परिचालन गरिने छ ।
प्रतिक्रिया दिनुहोस्