काठमाडौं, मंसिर ५ । आउँदो चैत २० देखि २२ गतेसम्म काठमाडौंमा ‘सगरमाथा संवाद’ हुने भएको छ ।
गएको वैशाख २ गते मन्त्रिपरिषद्को बैठकले सगरमाथा संवाद गर्ने निर्णय गरेअनुसार संवादको आयोजना गर्न लागिएको हो ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार पत्रकार सम्मेलन गरेर संवादमा नेपालले सामना गरिरहेको वातावरणीय, सामाजिक, आर्थिक, साँस्कृतिकलगायतका क्षेत्रमा व्यहोर्नुपरेको समस्याबारे छलफल हुने जानकारी गराए ।
उनले संवादमा अन्तर्राष्ट्रिय संघ–संस्था, नागरिक समाज, प्राज्ञिक संस्था एवं विज्ञहरु सहभागी हुने जानकारी दिए ।
यस्तै, १५० भन्दा बढी राष्ट्रका वातावरणविद्हरु पनि कार्यक्रममा सहभागी हुने पत्रकार सम्मेलनमार्फत् जानकारी गराइयो ।
संवादका लागि परराष्ट्रमन्त्रीकै अध्यक्षतामा २० सदस्यीय सगरमाथा संवाद आयोजक समिति गठन गरिएको छ ।
संवादमा विभिन्न मुलकका उच्च राजनीतिक नेतृत्वदेखि विश्वव्यापी समस्याहरुले ल्याएको असरसँग जुधिरहेका नागरिक पनि उपस्थित हुने बताइएको छ ।
जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्यलगायतका विषयमा केन्द्रित भएर संवादमा छलफल चलाइने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्