Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


वर्षदिन देखि गाउँ नै अन्धकार


0
Shares

 –हेमन्त केसी 

जाजरकोट । ढोरेनी जलविद्युत् आयोजना मर्मत नहुँदा बारेकोट गाउँपालिका–६ का ५०० घरधुरीका वासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

विद्युत् उत्पादनगृहमा रहेको डाइनामो २०७५ माघ २ गते बिग्रिएपछि बारेकोट गाउँपालिका–६ का स्थानीयवासीको बत्ती बाल्ने सपना अधुरै रहेको छ ।

आस्था नेपालको  दुई करोड २२ लाखको अनुदान सहयोग र बारेकोट गाउँपालिकाको  ३५ लाख सहयोगमा निर्माण भएको ढोरेनी जलविद्युत् आयोजना गत माघदेखि अवरुद्ध भएको स्थानीयवासी दलबहादुर विकको भनाइ छ ।

विद्युत् निर्माण भएको तीन-चार वर्ष बितिसक्दासमेत त्यस आयोजनामा काम गरेका मजदूरले ज्याला पाउन सकेका छैनन् ।

आफूले काम गरेको वर्षौ बितिसक्दा पनि काम गरेको  ६० हजार अहिलेसम्म पनि नपाएको नलगाड नगरपालिका–६ गर्छिनका अर्जुन विकले बताए ।

अर्जुन मात्रै हैन बारेकोट गाउँपालिका–६ ताँसीकी तारा विकको  ८० हजार, जुम्ला गुठिचौर गाउँपालिकाका खड्क बस्नेत, बारेकोट गाउँपालिका–६ का बमबहादुर विक, देवराज विक, अप्सरा विकको समेत काम गरेको  ५० हजार बढी  भुक्तानी पाउनै बाँकी रहेको बताएका छन् ।

“विद्युत् पनि बल्दैन, पैसा पनि पाएका छैनौं, हामीलाई समस्या भएको छ”, बारेकाट गाउँपालिका–६ का दलबहादुर नेपाली भन्छन् ।

उनको पनि आयोजनाको काम गरेको  ६० हजार लिन बाँकी रहेको छ । उता आयोजनाका अध्यक्ष महेन्द्रबहादुर चलाउनेले विद्युत् मर्मतको काम छिट्टै अगाडि बढ्ने र मजदूरले पनि काम गरेको रकम पाउने बताउँछन् ।रासस

विद्युत्को सामान सजिलै नपाउने र मर्मतको लागि बुटवल नै पठाउनुपर्ने समस्याले गर्दा हालसम्म पनि समस्या भएको आयोजनाका सचिव कमलदीप महतारको भनाइ छ ।