– दुर्गा उपाध्याय /ईमेज
कञ्चनपुर । सरकारले सबैका लागि शिक्षा भन्ने नारा अघि सारे पनि कञ्चनपुरका कतिपय स्थानमा शिक्षाका लागि भौतिक पूर्वाधारको अवस्था दयनीय छ ।
शिक्षा क्षेत्रमा सरकारले नै पर्याप्त बजेट विनियोजन गर्न नसकेको टिप्पणी भइरहेको बेला केही विदेशी संघसंस्थाले भने विद्यालयको भवन निर्माणमा चासो देखाएका हुन् ।
कञ्चनपुरको शुक्लाफाँटा–११ दीपनगरमा १४ जनाको समूहमा आएका अमेरिकी नागरिकले विद्यालय भवन निर्माणमा श्रमदान सहितको सहयोग गरेका छन् ।
उनीहरुले दीपनगर आधारभूत विद्यालयका लागि तीन कोठे भवन निर्माणमा सहयोग गरेका हुन् ।
३६ लाख रुपैयाँको लागतमा निर्माणाधीन विद्यालय भवनका लागि ‘बिल्ड अन नेपाल’ नामक गैरसरकारी संस्थामार्फत विदेशीहरुले २६ लाख रुपैयाँ बराबरका निर्माण सामग्री र श्रमदान गरेका हुन् भने बाँकी १० लाख बराबरको लगानी स्थानीय बासिन्दाले व्यहोरेका छन् ।
कुनैपनि देशका बालबालिकाले भवनको अभावमा शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले विदेशीहरुले संस्थामार्फत नेपालमै आएर सहयोग गर्दै आएको विल्ड अन नेपालका कर्मचारीको भनाइ छ ।
नेपालको सुन्दरताका बारेमा आफूहरुले आफ्नै देशमा सुनेको विदेशी दाताहरु बताउँछन् । यहाँको शैक्षिक विकासमा केही सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको उनीहरुको भनाइ छ ।
आर्थिक अवस्था कमजोर रहेका विद्यालयमा विल्ड अन नेपालमार्फत् भवन निर्माण हुने गरेका छन् ।
विदेशीको सहयोगमा विद्यालय भवन बनाएर भए पनि स्थानीय बालबालिकाका लागि पठनपाठनको व्यवस्था सहज तुल्याउन पाएकोमा खुशी लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर विष्ट बताउँछन् ।
कञ्चनपुरमा विदेशीहरुको सहयोगमा हालसम्म ५० वटा विद्यालय भवन निर्माण भइसकेको छ । यस वर्ष तीन वटा विद्यालय विदेशीहरुको सहयोग र श्रमदानमा निर्माण भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्