Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


राज र राणा खलकका ऐतिहाँसिक घरहरु जीर्ण अवस्थामा


0
Shares

– म्याग्दीबाट ध्रुवसागर /ईमेज

म्याग्दी ।  बेनी नगरपालिका वडा नं २ गौश्वारमा रहेका मल्लकालीन वास्तुकलाका एक सय वर्षभन्दा बढी पुराना घरहरु जीर्ण अवस्थामा पुगेका छन् ।

मल्ल वंशीय ठकुरीहरुको बाहुल्य रहेको गौश्वारामा प्रजातन्त्रको पुनस्र्थापनापछि बसाइसराइको दर बढेपछि प्राचीन घर अलपत्र बन्दै गएका हुन् ।

म्याग्दीको बेनी नगरपालिका अन्तर्गतको गोश्वारास्थित सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका प्राचीन घरहरुमा आँखीझ्याल, फलाँटे ढोका रहेका छन् ।

त्यस्तै घरको गाह्रोमा लगाइएका ढुङ्गा पनि आकर्षक तरिकाले कुँदिएका छन् ।

मल्ल वंशीय ठकुरीहरुको स्वामित्वमा रहेका करिब एक सय वर्ष पुराना घरहरुलाई व्यवस्थित गर्न सके पर्यटन विकासमा सघाउ पुग्ने स्थानीय शिक्षक रामबहादुर गुरुङको भनाइ छ ।

मल्लवंशीय राजखलक र राणा खलकसँग जोडिएका यी घरहरुको इतिहास धुमिल बन्न थालेको छ । तत्कालीन मल्ल ठकुरीहरु जुम्लाको सिंजा उपत्यकाबाट बसाइ सरी यहाँ आएको मानिन्छ ।

यहाँ आएपछि काठमाडौँका मल्ल र राणाहरुसँग वैवाहिक सम्बन्ध गासिएकाले कला संस्कृति पनि उतैबाट भित्रिएको हो ।

४ पुस्तादेखि पुरानो घरमा नै बस्दै आएका परमेश्वरवम मल्ल यससँग आफ्नो पुर्खाको पुरुषार्थ र पहिचान जोडिएकोले अझैसम्म पनि सुरक्षित राखिएको धारणा राख्छन् ।

‘कतिपय भाइबन्धुहरु सहरी क्षेत्रमा स्थानान्तरण भइसकेको तर आफू भने पुर्खाको विरासत जोगाउँदै बसिरहेको मल्लको भनाइ छ ।

ढुुङ्गाले छाएका, कौसीसहितका ३ तले आकर्षक र कलात्मक घर अहिले जीर्ण अवस्थामा रहेका छन् ।

गौश्वारा गाउँमा रहेका मल्लकालीन वास्तुकलाका पाँचवटा घरहरुमध्ये दुई घरमा बासोबास रहेको छ भने अरु जीर्ण अवस्थामा पुगेका छन् ।