
गृष्मा राजभण्डारी/प्रतीक्षा खनाल/नवीन स्थापित (इमेज):
काठमाडौं, जेठ ३१ । विश्वकप फुटबलको रौनक सर्वत्र छ । विश्वकपको ज्वरोले अहिले कसलाई छोएको छैन र ? बालबालिकादेखि वृद्धवृद्धासम्ममा फुटबलको चासो उत्तिकै छाएको छ ।
विश्वको सुदूर कुनामा चल्दै गरेको विश्वकप फुटबलको तातोले बालबालिकालाई पनि उत्तिकै छोएको हो ।
हाम्रो टोली राजधानीको एक किन्डर गार्डेनमा पुग्दा त्यहाँका अधिकांश नानीहरु विश्वकपमा सहभागी राष्ट्रहरुको जर्सीमा देखिन्थे । त्यतिमात्र होइन, उनीहरुले फुटबलको अभ्यास खेल पनि खेले ।
विश्वका एकसे एक देशका मुलुक र तिनका हस्ती खेलाडीले कस्तो खेल पस्कन्छन् ? भन्ने थाहा नपाएपनि यी नानीहरुमा देखिएको फुटबलप्रतिको चासो कम्ती छैन ।
त्यसैले त किन्डर गार्डेनले व्यवस्था गरिदिएको गोलपोस्ट अनि गोलकिपर हेर्दैमा अर्के रौनक छाउने । हाउभाउ हेर्दा खेलाडीभन्दा कमचाहिँ देखिन्नन् उनीहरु ।
खेल हेर्न बसेका स–साना नानीहरु फुटबलमा ‘हुटिङ’ गर्ने तरिकामा पनि उत्तिकै जानकार देखिन्थे ।
आफ्ना साथीहरुले फुटबल खेल्दा साथीको नाम लिइ समर्थन गरेको दृश्य निकै नै रोमान्चक थियो ।
फुटबललाई पोस्टसम्म लगी गोल गर्नुपर्नेमा जानकार रहेका यी नानीहरुले गोल गर्दा रमाएको दृष्य हेर्दा कम्ती रोचक देखिन्नथ्यो ।
विभिन्न देशका जर्सी लगाएका यी नानीहरुलाई जर्सी कुन देशको भन्ने जानकारीसमेत रहेको देखियो ।
प्रतिक्रिया दिनुहोस्