छठ पर्वको आज समापन गरिंदै : रातभर जाग्राम बसेका ब्रतालुहरु सूर्यदेवको पूजा आराधना गर्दै • Image Khabar Image Khabar


छठ पर्वको आज समापन गरिंदै : रातभर जाग्राम बसेका ब्रतालुहरु सूर्यदेवको पूजा आराधना गर्दै


Imagekhabar
१७ कार्तिक २०७६, आईतवार ०७:०७

छठ पर्वको आज समापन गरिंदै : रातभर जाग्राम बसेका ब्रतालुहरु सूर्यदेवको पूजा आराधना गर्दै

काठमाडौं । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ आज समापन गरिँदै छ । उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व समापन गरिन लागेको हो ।

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका छन् ।

छठको तेस्रो तथा मूख्य दिन हिजो अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अघ्र्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् ।

काठमाडौंमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरिरहेका छन् ।

उता, जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा ब्रतालुहरुको घुईचो लागेको छ ।

दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरिरहेका छन् । वीरगञ्जको घडीअर्वा पोखरीमा पनि छठको उत्तिकै रमझम रहेको छ ।

छठको उल्लास नवलपरासीमा पनि कम्ति छैन । झापाको मेची नदी, विरीङ, मावा, रतुवालगायतका नदी किनारमा पनि भक्तजन भेला भएर पूजा आराधना गरेका छन् ।

सप्तरीको कोशी व्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर सदरमुकाम राजविराजसहितका स्थानमा पनि उत्तिकै उल्लासले पर्व मनाइँदै छ ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्