छठ पर्वको मुख्य दिन आज सूर्यलाई अघ्र्य दिइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना • Image Khabar Image Khabar


छठ पर्वको मुख्य दिन आज सूर्यलाई अघ्र्य दिइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना


Imagekhabar
१६ कार्तिक २०७६, शनिबार ०८:००

छठ पर्वको मुख्य दिन आज सूर्यलाई अघ्र्य दिइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं । कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइने छठ पर्व आज बेलुकी मनाइँदैछ ।

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बिहीबारदेखि शुरु भएको हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।

उक्त समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन अनुसार सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् ।

त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुवात् भएको विश्वास गरिन्छ ।

छठ पर्वका लागि काठमाडौंका गुह्येश्वरी, नागपोखरी, गहनापोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।

आज बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठ पूजा गर्नुहुने कार्यक्रम छ ।

छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।

जलाशय वा नदीमा जलसहित सूर्यको पूजा आराधना गरी छठ मनाउने परम्परा सनातनदेखि नै चलेको शास्त्रीय प्रमाण रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यता, राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति, समृद्धि, सद्भाव र एकताका साथै प्रगतिको कामना गरेकी छन् ।

छठका अवसरमा आज दिनुभएको सन्देशमा उनले यस पर्वले सबै नेपालीमा राष्ट्रिय एकता बलियो बनाउनुका साथै मौलिक संस्कृतिको संरक्षणमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन् ।

छठ पर्वले सामाजिक एकता प्रवर्द्धन तथा आपसी सद्भावलाई सुदृढ तुल्याउन महत्वपूर्ण योगदान पुग्न सकोस् भन्ने कामना राष्ट्रपतिले गरेकी छन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ् गर्नेछ भने विस्वास व्यक्त गरेका छन् । 

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताएका छन् । उनले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रूपमा स्मरणसमेत गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्