डोजर प्रकरणमा थप एक जना विरुद्ध मुद्दा दर्ता • Image Khabar Image Khabar


डोजर प्रकरणमा थप एक जना विरुद्ध मुद्दा दर्ता


Imagekhabar
१५ कार्तिक २०७६, शुक्रबार १८:३७

डोजर प्रकरणमा थप एक जना विरुद्ध मुद्दा दर्ता

बैतडी । गत कात्तिक ४ गते बैतडीमा भएको डोजर प्रकरणमा थप एक जना विरुद्ध मुद्दा दर्ता भएको छ ।

सडक रोक्नुपर्छ भन्ने पक्षका दुर्गादत्त जोशीलाई प्रहरीले आज पक्राउ गरेको छ ।

जोशी विरुद्ध सडक निर्माण गर्ने पक्षले किटानी जाहेरी दिएपछि सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरेर पक्राउ गरिएको हो ।

सडक रोक्ने पक्षले भने आफूहरुकै जमीनमा जबरजस्ती डोजर चलाएको, आफूहरुमाथि मुद्दा दायर गरेको भन्दै विरोध जनाएका छन् ।

बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ ग्वाल्लेकमा सडक निर्माण गर्दा डोजरले महिला हुत्याउने चालक किशोर बोहरालाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ ।

डोजर मालिक भानीदत्त जोशी, स्थानीयहरु भोजराज जोशी र धर्मानन्द जोशीलाई पनि १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक किसन चन्दले बताए ।

यसैबिच डोजरले नागरिकमाथि आक्रमण गरिएको घटनाको छानबिन गर्न जिल्ला प्रसासन कार्यालय बैतडीले गठन गरेको छानबिन समितिले पनि अनुसन्धान थालेको छ ।

उक्त घटनामा एक महिलासहित अन्य ७ जना घाइते भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्