
उपेन्द्र खनाल (इमेज)
तनहुँ, कात्तिक १५ । सरकारी विद्यालयको गुणस्तर निरन्तर खस्किरहेको अवस्थामा कतिपय विद्यालय भने विद्यार्थीको रोजाइमा पर्न सफल भएका छन् ।
त्यसैमध्ये तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयमा पनि गुणस्तरीय पढाइ देखेर विद्यार्थी आकर्षित भएका हुन् ।
सरकारी विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुन थालेपछि कतिपय विद्यालयहरु गाभिन थालेका छन् । तर, तनहुँको दमौलीस्थित सत्यवती माविमा विद्यार्थीको आकर्षण थेगिनसक्नु छ ।
विद्यार्थीको संख्या अत्यधिक भएपछि विद्यालयले ‘इन्ट्रान्स’ परीक्षा गराएर भर्ना लिने गरेको छ । त्यति गर्दा पनि विद्यालयमा एउटै कक्षामा ९ ओटासम्म ‘सेक्सन’ बनेका छन् ।
यस विद्यालयको पढाइ देखेर अभिभावक पनि दंग छन् ।
शिक्षाको गुणस्तर राम्रो भएकै कारण विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल बताउँछन् ।
विद्यालयको उत्कृष्ट नतिजा, विद्यार्थीमैत्री शैक्षिक वातावरण, कुशल प्रशासनिक व्यवस्थापनलगायतका कारण विद्यालयप्रतिको विश्वास बढ्दै गएको हो ।
यो विद्यालय उत्कृष्ट विद्यालयकारुपमासमेत पुरस्कृत भइसकेको छ ।
विद्यालयमा व्यवस्थित पुस्तकालय, ल्याब, विज्ञान प्रयोगशाला तथा विद्यार्थीका लागि कम्प्युटरको छुट्टै व्यवस्था छ ।
विद्यालयको भौतिक र शैक्षिक वातावरण अनुकूल भएकाले यस विद्यालयमा पढ्न आएको विद्यार्थीहरुको भनाइ छ ।
शिक्षकले पनि आफ्ना छोरा–छोरीलाई यसै विद्यालयमा पढाउने गरेकाले पनि विद्यालयप्रति सकारात्मक मनोविज्ञान बढेको हो । ‘सरकारीमा पढाइ राम्रो हुँदैन’ भन्ने मान्यतालाई यसले चुनौती दिएको छ ।
प्राविधिक, कम्प्युटर इन्जिनियर, विज्ञान, शिक्षा तथा व्यवस्थापनको पढाइ हुने विद्यालयमा १२ कक्षासम्म पढाइ हुने गरेको छ ।
शिक्षाको गुणस्तरमात्र नभइ बालबालिकाको विकास लागि आवश्यक अन्य पक्षमा पनि विद्यालय अब्बल रहेको विद्यालय व्यवस्थापन समितका अध्यक्ष सूर्य अधिकारी बताउँछन् ।
दुई हजार ४६८ विद्यार्थी अध्ययनरत् रहेको उक्त विद्यालयमा ९९ जना शिक्षकले अध्यापन गराउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्