
अपडेट
कपिलवस्तु, कात्तिक १५ । कपिलवस्तुमा दुई पक्षबीच भएको झडपका कारण रोकिएको मूर्ति विर्सजन १० बुँदे सहमति भएसँगै विर्सजन गरिएको हो ।
बिहीबार राति २ बजेतिर दुवै पक्षबीच सहमति भएपछि कर्फ्युकाबीच सुरक्षा घेराबन्दीमा लक्ष्मीको मूर्तिको विर्सजन गरिएको थियो ।
बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि लगाइएको कृष्णनगर क्षेत्रको कर्फ्यु अवस्था हेरेर घटाइने कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले जानकारी दिए ।
झडपकाक्रममा भारतीय नागरिक सुरजकुमार पाण्डेको प्रहरीले चलाएको गोली लागी मृत्यु भएको थियो । उनी विगत १५ वर्षदेखि कृष्णनगरमा चियापसल सन्चालन गरेर बसेका थिए ।
सहमति भएका बुँदामा क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने, मूर्ति विर्सजन गर्न अवरोध गर्ने जमाल शाहलाई कानुनी कारबाही गर्ने, प्रहरीले दमन गरे/नगरेको छानबिन गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने, कर्फ्युलाई क्रमशः घटाउँदै लैजानेलगायत रहेको प्रशासनले जनाएको छ ।
दुवै पक्षबीच भएको वार्तामा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक जबरा, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्षलगायतको सहभागिता रहेको थियो ।
‘पोस्टमार्टम’पछि सुरजको शव उनका आफन्तले बुझेका छन् ।
प्रतिक्रिया दिनुहोस्